शुक्रबार, जेठ ११, २०८१

वाग्मती प्रदेशले जासुसी संयन्त्र गठन गर्ने

नेपालखोज २०७८ चैत ८ गते १६:५५

काठमाडौं । वाग्मती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ । आज बसेको वाग्मती प्रदेशसभाको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो ।

नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानुन बमोजिम परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने निर्णय गरेको हो । आज बसेको प्रदेशसभाको बैठकमा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गरेका थिए ।

कानुन मन्त्री खनालको प्रस्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो । त्यस्तै बैठकले प्रदेश विपत् व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।

त्यस्तै, वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेकोे घोषणा गरेका छन् ।

उनले प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मत स्वीकृत भएको पनि घोषणा गरे । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया