बुधबार, असार १८, २०८२

ओली, प्रचण्ड र माधव एक हुनुपर्छ : घनश्याम भुसाल

नेपालखोज २०७८ चैत ८ गते १७:०६

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद् विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला गलत हो भनेर एमाले चुनावमा जाने हो भने संविधान भत्किने दाबी गरेका छन् । मंगलबार पत्रकारहरूसँग वाम एकताको औचित्यबारे छलफल गर्दै भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउँमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताएका छन् ।

उनले राजनीतिक स्थिरता र सम्बृद्धिका लागि तीनवटै पार्टी एक ठाउमा आउनुको विकल्प नभएको पनि बताए । भुसालले संसद विघटन र पुन:स्थापना इतिहासको घटना भइसकेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यहिँ छाड्नुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न वाम शक्तिहरु एक ठाउमा आउनुपर्ने बताएका छन् ।

भुसालले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विभाजनको औचित्य नरहेको भन्दै तीनवटै पार्टी समाजवाद चाहेकाले आफुले एकताको पक्षमा आवाज उठाएको बताए । भुसालले भने, ‘पार्टी विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन । कम्तीमा तीन पार्टी र अन्य पार्टीहरू जो चुनावमा जान्छन् यदि तपाई जानुहुन्छ भने के भनेर जानुहुन्छ समाजवाद ल्याउने हो भनेर जानुहुन्छ । आजै समाजवादी उत्पादन सम्बन्ध कायम गर्न सक्नुहुन्न । त्यसको तयारी गर्नुपर्छ । त्यसका लागि मुलुकलाई सम्बृद्धितर्फ लैजानुपर्छ ।’

नेता भुसालले सैद्धान्तिक रुपमा पनि तीन पार्टीले गर्ने कुरा एउटै रहेको बताए । भुसालले भने, ‘नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण थिएन, एउटा राजनीतिक कारण थियो संसद विघटन । त्यसमा हामी अहिले पनि विभाजित छौं । त्यसलाई अदालतले निर्णय गरिसकेको छ । यो संविधान रहेसम्म संसद विघटन हुँदैन भनिसकेपछि अब एमालेले सर्वोच्चको त्यो निर्णय गलत भनेर जाने हो भने संविधान भत्किन सक्छ र सोझै अस्थिरताको पक्षमा हिँड्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया