मंगलबार, जेठ १५, २०८१

अर्थमन्त्री शर्माले भने- माथिल्लो अरुण जलविद्युत परियोजना निर्माणमा कुनै समस्या छैन

नेपालखोज २०७८ चैत ९ गते १५:२३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताएका छन् । नेपाल विद्युत प्राधिरकणले मंगलबार परियोजनामा लगानी जुटाउने उद्देश्यले बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताएका हुन् ।

उनले यो परियोजना सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले सरकार माथिल्लो अरुण मात्रै नभएर अरुणसँगै बुढीगण्डकी, मुगु कर्णाली लगायत अन्य जलाशययुक्त आयोजना तत्काल अगाडि बढाउने तयारीमा रहेको बताए । हामीलाई देश बनाउने प्रतिबद्धता चाहिएको छ भन्दै मन्त्री शर्माले लगानीको समस्या नभएको बताए । परियोजना निर्माणको लागि वस्तुवादी योजना नीति तथा कार्यक्रम बनाएर ठूला परियोजनाको निर्माण अगाडि बढाउन जरुरी रहेको मन्त्री शर्माले उल्लेख गरे ।

अब कसैसँग ऋण लिँदा जुन परियोजनाको लागि ऋण लिएको हो त्यही आयोजनाले तिर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माको भनाई छ । मन्त्री शर्माले माथिल्लो अरुणमा स्थानीयवासीको समेत लगानी रहने गरी शेयर संरचना तयार पारिने बताए । त्यस्तै अर्थमन्त्री शर्माले लगानीकर्ताले लगानी फस्छ भनेर डराउनु नपर्ने बताए ।

उनले यो परियोजना सरकारको लगानी भएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । परियोजानको लागि लगानी कोषले मात्रै १ खर्ब लगानी गर्न तयार रहेको मन्त्री शर्माले जानकारी दिए । उनले सन्जय कोष, धेरै बैंक, बीमा संस्थान, बीमा कम्पनीहरुले समेत पूर्वाधार विकासमा लगानी गर्ने बताए । परियोजना निर्माणमा पैसाको समस्या नभएको भन्दै मन्त्री शर्माले हाम्रो समस्या सही योजना, व्यवस्थापन र समयको सदुपयोगमा रहेको बताए ।

त्यस्तै कार्यक्रमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले बिजुलीको बजार कहाँ होला भनेर चिन्ता नगर्न लगानीकर्तालाई आग्रह गरे । उनले विद्युत निर्यातको बाटो सरकारले खोली सकेको बताए । मन्त्री भुसालले विद्युत निर्यात बढाउनको लागि भारतसँग राजनीतिक तथा कूटनीतिक तवरबाट सम्वाद भइरहेको बताए ।

उनले निर्यात बढाउनको लागि वातावरण सकारात्मक बन्दै गएकाले ठूलो लाभ प्राप्त हुने दाबी गरे । चीनले समेत माथिल्लो अरुण परियोजना आफैँ लगानी गरेर बिजुली लैजान चासो व्यक्त गरेको मन्त्री भुसालको भनाई छ । मन्त्री भुसालले बगेको पानीलाई विद्युतको युनिटमा बदल्न सके मात्रै आर्थिक विकास हुने दाबी गरे ।

छलफल कार्यक्रममा स्वदेशी लगानीकर्ता सरकारले परियोजनाको समय र लागत नबढाउने विषयमा प्रतिबद्धता गरे लगानी गर्न तयार रहेको बताएका छन् । माथिल्लो अरुण आयोजनाको सम्पूर्ण अध्ययन सपन्न भइसकेको छ । माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायतका बहुपक्षीय दातृ निकाय समेत तयार रहेको विद्युत प्राधिकरणले बताएको छ । आयोजनाको कूल लागत २ खर्ब १४ अर्ब रुपैयाँ बराबर रहेको छ । आयोजना निर्माणका लागि नौ वर्ष लाग्ने प्राधिरणले बताएको छ ।

प्रतिक्रिया