मंगलबार, जेठ १, २०८१

वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

नेपालखोज २०७८ चैत ९ गते १७:५४

वाग्मती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । वाग्मती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिइन् ।

उनका अनुसार, सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउनुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण करिब तीन महिना अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि दुई बैठक बसेर नवौँ अधिवेशन अन्त्य गरिएको हो । प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत १२ वटा बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको पछिल्लो समय गत फागुन २९ गते, ३० गते र चैत ८ गते बसेको बैठकले दुई वटा विधेयक पारित गरेको थियो भने अन्य तीन वटा विधेयक संशोधनको लागि पेश गरेको थियो । वाग्मती प्रदेशसभामा हाल १०९ सदस्य रहेका छन् ।

जसमा एमालेका ४३, माओवादीका २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सदस्य छन् ।

प्रतिक्रिया