श्रमिकलाई रोजगारी र राहत दिन गरेका सहमति कार्यान्वयन गर्न सरकार उदासिन

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रसकाे मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले श्रमिकलाई रोजगार र राहत दिन गरेका सहमतिहरु कार्यान्वयन गर्न उदासिन बनेको आरोप लगाएको छ ।
आज काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले पत्रकार सम्मेलन गर्दै सरकार, श्रमिक र रोजगारदातबीच राहत तथा सहुलियत उपलब्ध गराउन भएको सहमतिहरु कार्यान्वयन गर्न उदासिन बनेको आरोप लगाएको हो । पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले सरकारको उदासिनताका कारण श्रम बजारमा द्वन्द्व सिर्जना हुन लागेको बताए ।
महासचिव कुँवरले सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न ध्यान दिन नसकेको कारणले पनि श्रमिक र रोजगारदाताबीच द्वन्द्व बढाउन सहयोग गरेको बताए । उनले सरकार र प्रमुख राजनीतिक दलहरु श्रमजीविहरुको दैनिक जीविकाप्रति संवेदनशील नदेखिएको आरोप लगाए ।
महासचिव कुँवरले समाजवाद नेपालको संविधानदेखि सबै पार्टीको प्रमुख नीति बनेको भए पनि कार्यक्रमहरु भने त्यसको विपरित भएको बताए । उनले नेपाली कांग्रेस पनि समाजवादको बाटोमा अल्मिलिएको आरोप लगाए ।
महासविच कुँवरले श्रमिकमैत्री नीति र कार्यक्रमको अभाव सर्वत्र भइरहेको भन्दै नेपाली कांग्रेसले पनि पछिल्ला दिनहरुमा श्रमिक र किसानहरुलाई उपेक्षा गरेको बताए । नेपाल ट्रेड युनियन कांग्रेसले चैत्र ७ र ८ गते काठमाडौंमा दुई दिवसीय राष्ट्रिय समितिको बैठक सम्पन्न गरेको थियो ।
बैठकले राष्ट्रिय सम्मेलन आगामी वर्षको जेठ २९ र ३० गते काठमाडौंमा गर्ने, ७५३ वटै स्थानीय तहमा आगामी असार मसान्तभित्र स्थानीय तह समिति गठन गरिसक्ने, वैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्थानीय निर्वाचनलाई लक्षित गरेर देशका प्रमुख शहरहरुमा श्रमिक र्याली तथा आमसभाका कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।
प्रतिक्रिया