आइतबार, जेठ ६, २०८१

एकीकृत सहरी विकास कार्यक्रमका लागि बजेट छुट्याउन मन्त्री झाँक्रीकाे आग्रह

नेपालखोज २०७८ चैत १० गते १७:०८

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छन् । उनले एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै यस कार्यक्रमको लागि थप बजेट आवश्यक रहेको बताएकी हुन ।

बिहीवार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताईन । उनले भनिन्, ‘एकीकृत सहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत् यस बर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं ।’ उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रम ल्याउने विषयमा गृहकार्य गरिरहेको बताईन ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले शहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताए । मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले सहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताल लगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताए।

उनले भने, ‘मन्त्रालयले सहरीकरणमा थुप्र्रै राम्रा काम गरिरहेको छ । अब हाम्रा शहरहरुको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ ।’ कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए ।

प्रतिक्रिया