मंगलबार, जेठ ८, २०८१

भरतशमशेरको कुरा !

सुनील उलक २०७८ चैत १२ गते ११:११

२००७ सालमा राजा तथा जनताको सहयोगमा १०४ वर्ष लामो राणा शासन समाप्त भयो । देशमा प्रजातन्त्र आयो । जसरी अहिले नेपालीले गणतन्त्र आए के के न होला भन्ने सोचेका थिए त्यो समय पनि राणा शासन हटेपछि देशले धेरै कुरा पाउनेछ । जनताको सुखसयल बढ्नेछ भन्ने सपना देखेका जनतामा तुषारापात भएको थियो । सुरुमा भारत सरकार अझ भनौं नेहरुको षडयन्त्रले नाम मात्रको स्वतन्त्रताको अनुभुति भयो । भारतिय दवावमा हरेक काम गर्नुपर्ने निर्णयहरु गर्नुपर्ने बाध्यता भयो ।

२००७ सालको सुरुदेखि नै जब राणाहरुविरुद्धको आन्दोलन चर्किन थाल्यो । राणाहरुका एकथरि पनि राणाशासनको समर्थनमा आन्दोलन गर्न थाल्यो । २००७ सालको पुस २० गते गौचरमा भरतशमशेरको नेतृत्वमा हातमा खुकुरी लिएका एक जमातले प्रदर्शन गर्न थाल्यो । बबरशमशेरका नाति भरतशमशेरले ‘वीर गोरखा दल’ को नामबाट समूह एकत्रित गरेका थिए । हातमा खुकुरी बोकेर हिँड्ने भएको हुँदा जनताले भने खुकुरी दल भनेर भन्न थाले ।

२००७ सालको कात्तिकमा भारत पुगेका राजा, भारतका लागि नेपाली राजदूत सिंहशमशेर तथा भारतीय प्रधानमन्त्री नेहरुबीचको छलफलपछि तयार बनाइएको बुँदाहरुलाई राणा प्रधानमन्त्री मोहनशमशेरले पुस २४ गते स्वीकार्न बाध्य भए । फागुन ७ मा देशमा राणाशासन समाप्त भएको घोषणा भयो । तर केही समयका लागि मोहनशमशेरले प्रधानमन्त्रीत्व र बबर शमशेरले रक्षा मन्त्रालयको जिम्मा लिए । राणाहरुको षड्यन्त्र समाप्त भएको थिएन । दार्जिलिङबाट गोरखा लिगका सदस्य रणधिर सुब्बालाइ पनि काठमाडौ बोलाएर वीर गोरखा दलको प्रमुख सल्लाहकार बनाइएको थियो । खुकुरी दलको आतंकको विरोधमा काठमाडौं तथा पाटनको टोलटोलमा रक्षा मण्डल गठन गरिएको थियो । अन्तत: गृहमन्त्री बीपी कोइरालाको पहलमा खुकुरी दलमाथि २००७ फागुन १९ गते प्रतिबन्ध लाग्यो । खुकुरी दल अझ हिंस्रक बन्न थाल्यो । अन्तत चैत्र ३० गते बिहान ६ बजे नै भरतशमशेर तथा रणधिर सुब्बा पक्राउ परे । जसको विरोधमा निस्केको खुकुरी दलको हिंस्रक जुलुसले गृहमन्त्री विपी कोइरालाको निवासमा आक्रमण गर्न गयो । यो प्रयास विपीको हत्याको प्रयास थियो । विपीले आफ्नो सुरक्षार्थ हानेको गोलीले खुकुरी दलका एक कार्यकर्ता सुवेदार कुलध्वजको मृत्यु भयो । भिडले भरतशमशेर र रणधिर सुब्बालाई निकालेर लग्यो । खुकुरी दलको हिंस्रक जुलुस बजारमा घुमिरह्यो । टुँडिखेलमा कवज गरिरहेका सैनिकहरुलाई भरतशमशेरले भड्काउन खोज्यो तर सेनापति केशरशमशेरले रोक्यो । यदि त्यो समय केशर शमशेर राणाहरुको समर्थनमा सेनालाई उक्साएको भए । फेरी अर्को कोटपर्व हुन्थ्यो । सयौ जनताको साथसाथै विपी, गणेशमान र कृष्णप्रसाद लगायत कैयौ नेताहरु मारिन्थे ।

त्यहि साँझ भरतशमशेर फेरी समातिए । यहि निहुँमा प्रधानमन्त्री मोहनशमशेरलाई विपीको हत्याको प्रयासको आरोप लाग्यो । जसले गर्दा प्रधानमन्त्रीको राजिनामा माग्न थालियो । फलस्वरुप चैत्र ३१ गते राजा त्रिभुवनको अध्यक्षतामा मन्त्रीमण्डलको बैठक बस्यो । तर अचानक भारतीय राजदुत सिपिएन सिंह तथा राजा त्रिभुवनको सचिवको रुपमा नेहरुले पठाएका भारतीय नागरिक गोविन्दनारायणको षडयन्त्रले मोहनशमशेरको राजिनामा रोकियो । तर श्री ३ को ब्यक्तिगत सुरक्षाको लागी तत्पर बिजुली गारदलाई सिंहदरवारबाट हटाएर नारायणहिटी लगियो । यछि यहि सेना राजाको निजि सेना झै बन्दै गयो । बैशाख ८ गते मोहनशमशेर सिंहदरवारबाट बाहिरिए । आफ्नै निजी निवास लक्ष्मी निवासमा सरे । २००८ को जेठ २६ गते मोहनशमशेरकै प्रधानमन्त्रीत्वमा मन्त्रीमण्डलको पूनर्गठन भयो ।

यसरी २००८ सालमा प्रतिवन्धित भएको वीर गोरखा दलका अगुवा भरतशमशेरले २०१५ सालको आमचुनावमा नेपाल राष्ट्रवादी गोरखा परिषदको नामबाट चुनावमा भाग लिए । कुल १०९ स्थान मध्य ८६ स्थानमा आफ्ना प्रत्यासी उठाएका थिए । परिणाम आँउदा १९ सिटमा विजय हासिल गरेर प्रमुख प्रतिपक्ष दलको रुपमा पहिलो संसदमा स्थापित हुन सक्यो । साथै भरत शमशेर सोही दलको अगुवाको रुपमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा रहे । तर यो समय लामो रहेन । अचानक राजा महेन्द्रले संसद विघटन गराइ सबै नेताहरुलाई नजरवन्दमा राखे । भरतशमशेर पनि जेल परे । पंचायत कालमा आफ्नो दललाई निशर्त कांग्रेसमा विलय गराएर पंचायतको विरुद्धमा लागे । भारत निर्वासनमा रहदा कलकत्तामा बसेर चलचित्र निर्माण गर्न थाले । सन १९७१ मा निर्मित सिमाबद्ध नामक बंगाली चलचित्र प्रख्यात निर्दशक सत्यजित रायको निर्देशनमा बनेको थियो । जुन चलचित्र शर्मिला टैगोर अभिनित थियो । य‍ चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार तथा भेनिस फिल्म फेस्टिवलमा पनि एवार्ड जित्न सफल भएको थियो । राणाले उक्त चलचित्रको साथसाथै अन्य केही चलचित्र पनि बनाएका थिए ।

यिनै भरतशमशेर राणाको गत वर्ष २०७५ साउन २६ गते कलकत्तामा वहाँको देहावसान भयो । यहाँ उनै भरत शमशेर राणाको विवाहको समारोहको लागी जाँदै गरेका दरवारिया चेली, सुसारे तालिमे नानीहरुलाई देख्न सकिन्छ । २९ नम्बरको यो गाडीमा पछाडी लहरै दरवारिया चेली, सुसारे, तालिमे नानीहरुलाई छाता ओढेर बसेको देख्न सकिन्छ ।

प्रतिक्रिया