सार्वजनिक यातायातको भाडादर बढाउने सरकारको निर्णय
काठमाडौं । नेपालमा पहिलोपटक सार्वजनिक यातायातका साधनको भाडादरमा स्वचालित प्रणाली लागू भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वचालित भाडा प्रणाली सम्बन्धी कार्यविधि स्वीकृत गरेकी हुन् ।
सरकारले सार्वजनिक यातायात भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो । इन्धन मूल्य बढेकाले सार्वजनिक यातायात भाडा बढाउन व्यवसायीले सरकारलाई दबाब दिइरहेका थिए ।
प्रदेश र जिल्लाभित्र चल्ने सवारीसाधनको भाडा भने सम्बन्धित सरकारले नै निर्णय गरेपछि मात्रै बढ्ने यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । यातायात व्यवसायी र सरकारबीच आज भएको छलफलमा भाडा बढाउने सैद्धान्तिक सहमति भएको हो । यातायात व्यवस्था विभागले आइतबारमात्रै बढेको भाडादरबारे सूचना सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
यसअघि विभागले असार ३० गते यात्रुवाहक सवारी भाडा २८ प्रतिशतले बढाएको थियो । त्यसपछि प्रदेश सरकार र स्थानीय सरकारहरूले पनि सम्बन्धित क्षेत्रमा लागू हुनेगरी सार्वजनिक यातायात भाडा वृद्धि गरेका थिए । एक प्रदेशबाट अर्को प्रदेशसम्म सवारी भर्ने यातायात भाडामात्रै बढेको बताइएको छ । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भने यातायात भाडा बढाइएको छैन ।
पेट्रोलियम पदार्थको मुल्य ३४ प्रतिशतले बढेको हुनाले त्यसैका आधारमा यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रमा रुटअनुसार भाडा बढ्नेछ ।
प्रतिक्रिया