बिहीबार, मंसिर २७, २०८१

कोरोनाबारे के भन्दै छ डब्ल्यूएचओ ?

नेपालखोज २०७८ चैत १८ गते १९:१७

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडनाम घेब्रेयसस समयका साथ कोभिड-१९ को जोखिम कम हुँदै जाने बताएका छन् । साथमा उनले चेतावनीसमेत दिएका छन् कि- बढी घातक तथा तीव्र गतिमा फैलने भाइरस देखा पर्न सक्ने स्थितिप्रति हामी सबै सतर्क एवं सुरक्षित रहनुपर्ने आवश्यकता छ । त्यसका अतिरिक्त यो वर्ष कोरोना महामारी कसरी विकसित हुनसक्छ भन्ने तीन सम्भावित तरिका पनि उनले बताएका छन् ।

यो वर्ष यसरी फैलन सक्छ महामारी
नियमित प्रेस ब्रिफिङमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनाम घेब्रेयससले भने- हामीलाई जे थाहा छ त्यस आधारमा भन्नुपर्दा सबैभन्दा सम्भावित परिदृश्य के हो भने कोभिड-१९ भाइरस विकसित भइरहेको छ तर यसका कारण हुने संक्रमितको गाम्भीर्य समयका साथ कम हुँदै जानेछ किनभने खोप तथा संक्रमणका कारण हाम्रो इम्युनिटी पनि बढ्दै जानेछ ।

महानिर्देशक टेड्रोस भन्छन्- कोभिड-१९ का संक्रमित बेलाबेला ह्‌वात्तै बढ्ने तथा मृत्युसम्म हुने घटना इम्युनिटीको कमीका रूपमा देखा पर्न सक्छ । यसका लागि हामीले कमजोर क्षेत्रहरुमा समय-समयमा ध्यान पुर्याउनुपर्ने हुनसक्छ । राम्रो स्थिति के हुनसक्छ भने यसको कम गम्भीर रूप मात्र देखियोस् र खोपको बुस्टर वा नयाँ फर्मुलेसनको आवश्यकता नपरोस् ।

उनले भने- सबैभन्दा खराब स्थिति एउटा विषालु तथा धेरै तीव्र गतिमा फैलने भाइरसको भेरियन्ट देखापर्नु हुनेछ । यो नयाँ खतराका विरुद्ध सिकिस्त बिरामी तथा मृत्युबाट मानिसहरुलाई सुरक्षा प्रदान गर्न पहिले नै भ्याक्सिनेसन सक्ने र सावधानी अपनाउने, सचेत रहने अनि कोभिड प्रोटोकोलको पालना गर्ने नै हुनेछ । खराब स्थितिबाट पार पाउन, वर्तमान भ्याक्सिनमा महत्त्वपूर्ण परिवर्तन ल्याएर छिटोभन्दा छिटो लक्षित वर्गमा पुर्याउनु पनि महत्त्वपूर्ण हुनेछ ।

त्यसोभए हामी कोभिडको तीव्र चरण कसरी समाप्त गर्न सक्छौं ? भन्ने प्रश्नको जवाफ दिँदै डब्ल्यूएचओ प्रमुख भन्छन्- यसका लागि सबै देशले पाँचवटा मुख्य क्षेत्रमा लगानी गर्नुपर्नेछ र ती क्षेत्र हुन् :

पहिलो – सर्भिलेन्स, लेबोटोरिज तथा पब्लिक हेल्थ इन्टेलिजेन्स ।
दोस्रो – भ्याक्सिनेसन, पब्लिक हेल्थ तथा सामाजिक उपाय तथा इङेज कम्युनिटी ।
तेस्रो – क्लिनिकल ​​रेखदेख तथा लचिलो हेल्थ सिस्टम ।
चौथो – रिसर्च, डेभलपमेन्ट र डिभाइस तथा सप्लाईका एक समान पहुँच ।
पाँचौं – इमरजेन्सीदेखि लङ टर्म रेस्पिरेटरी डिजिज म्यानेजमेन्टका लागि को-अर्डिनेसन ।

भाइरसमा इनर्जी बाँकी नै छ
यसैगरी डब्ल्लूएचओका टेक्निकल हेड मारिया वान केरखोवले भनेकी छन्- अहिले पनि कोरोना भाइरसमा प्रशस्त इनर्जी बाँकी छ जसले यो महामारीलाई तेस्रो वर्षसम्म तान्न सक्छ ।

गएको साता डब्ल्यूएचओले कोरोनाका १० लाख नयाँ संक्रमित तथा ४५ हजार मृत्युको सूचना संकलन गरेको थियो । यसमा नयाँ संक्रमितको संख्या अझ बढी भएको पनि बताइएको थियो किनभने अहिले संसारभर कोरोना टेस्टिङ रेट निकै तल झरेको छ ।

गएको साताको अन्त्य सम्ममा ४७९ लाखभन्दा बढी कोरोनाको चपेटामा आइसकेको तथा ६० लाखभन्दा बढीको मृत्यु भइसकेको थियो । यद्यपि डब्ल्यूएचओ आफैंले वास्तविक तथ्यांक योभन्दा धेरै बढी हुनसक्ने कुरा स्वीकार गरिसकेको छ ।

-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया