सोमबार, मंसिर १७, २०८१

एनआरएनमा तीन अध्यक्ष हुनु गैरआवासीय नेपालीहरु एकजुटको संकेत

नेपालखोज २०७८ चैत १८ गते १५:२९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. केशव पौडेलले संघमा राजनीतिक चलखेल नभएको दाबी गरेका छन् । महासचिव पौडेलले राजनीतिक दल वा संघसंस्था सँग छलफल गर्दैमा संघमा राजनीति छिरेको भन्न नमिल्ने बताए । उनले संघले अबका दिनमा नेपालको समृद्धिमा सहयोग गर्ने, विदेशमा बस्ने नेपालीहरुलाई नेपालसँग जोडिराख्ने, विदेशमा बसेका नेपालीलाई निरन्तर नेपाली नागरिकता लिइराख्न सक्ने व्यवस्था बनाउने लगायतका कामलाई सहजीकरण गर्नेतर्फ केन्द्रित रहने पनि बताए ।

न्युज एजेन्सी नेपालसँग भएको कुराकानीमा महासचिव पौडेलले सबै राजनीतिक दल, सरकार र संघसंस्थाहरुसँग छलफल गरेर आगामी दिनमा गैरआवासीय नेपाली संघलाई अघि बढाउने पनि बताए । एनआरएनएको सामुहिक नेतृत्वले गैरआवासीय नेपालीका समस्या समाधान गर्ने र संघमा केही समस्या समाधान भइसके पनि अहिले धेरै समस्या रहेको भन्दै त्यसलाई छलफलबाट टुंग्याएर अघि बढ्नुपर्ने बताएका छन् ।

महासचिव पौडेलले एनआरएनएमा तीन जना अध्यक्षको सहकार्यमा नेतृत्व सुचारु हुन लागेको प्रति कतिपयले पदको लागि सहकार्य गरेको भन्ने आरोप लगाएको भनेपनि त्यो सत्य नभएको बताउँदै संस्थाले गैरआवासीय नेपालीहरुका समस्या समाधानका लागि सामुहिक सहमतिको नेतृत्व चयन गरेको स्पस्ट पारे । महासचिव पौडेलले सामुहिक नेतृत्वले संस्थालाई संस्थावत बनाउने र पारदर्शी बनाउने कुरामा जोड दिनुपर्ने बताए । न्युज एजेन्सीसँग कुरा गर्दै उनले सामुहिक नेतृत्व बन्नु सबै गैरआवासीय नेपालीहरु एकजुट हुनुको संकेत भएको र अहिले सामुहिक समझदारीले आउने दिनमा संस्थाको भविष्य उज्जल बनाउनेमा द्वीमत नरहेको समेत जानकारी दिए ।

महासचिव पौडेलले गैरआवासीय नेपालीहरुले नेपालमा धेरै क्षेत्रमा लगानी गरिरहेपनि त्यसको आवश्यक प्रचारप्रसार हुन नसकेको आवश्यक क्षेत्रमा अझै पनि गर्नुपर्ने जति लगानी गर्न नसकेको पनि स्पष्ट पारे । महासचिव पौडेलले गैरआवासीय नेपाली नागरिकहरु नेपालमा लगानी गर्न सहज वातावरण बन्न नसकेको र आगामी दिनमा संघले सरकारसँग छलफल गरेर गैरआवासीय नेपालीहरुले नेपालका विभिन्न क्षेत्रमा गर्नसक्ने लगानीको झन्झटलाई सरलीकृत गर्न सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया