तीनदिने भ्रमणका लागि प्रधानमन्त्री दिल्ली प्रस्थान (फोटो फिचर)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाइ गरेको छ ।
प्रधानमन्त्री देउवा चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डल भारतीय समयअनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
त्यसपछि प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटेलमा गएर बस्ने तालिका रहेको छ । प्रधानमन्त्री देउवाले आजै अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।
पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि देउवा नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला आरजु राणा देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव भानुबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डे, स्वास्थ्य सचिव रोशन पोखरेल, कृषि सचिव गोविन्दप्रसाद शर्मा छन् ।
त्यसैगरी प्रधानमन्त्रीका निजी सचिव प्रकाश देउवा, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, निजी क्षेत्रका उद्यमी–व्यवसायी संघसंगठनका अध्यक्षसहित उच्च पदाधिकारी, स्वतन्त्र ऊर्जा उत्पादक संघका पदाधिकारी तथा सञ्चारकर्मी छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा भारतका लागि नेपालका राजदूत शंकर शर्मा, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपप्रमुख रामप्रसाद सुवेदीलगायत दूतावासका उच्च अधिकारी नयाँदिल्लीबाट सहभागी हुनेछन् ।
तस्बिर : रासस
प्रतिक्रिया