शनिबार, मंसिर २९, २०८१

दैनिक १० लाख ब्यारलसम्म तेल निकाल्न बाइडेनको निर्देशन

नेपालखोज २०७८ चैत १८ गते १६:२४

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् ।

आउँदो छ महिनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च १८ करोड ब्यारलसम्म तेल निकालिने अमेरिकी प्रशासनले जनाएको छ । यद्यपि दैनिक १० लाख ब्यारलको दरमा तेल निकालेर ऊर्जा संकट समाधान नहुने विश्लेषकहरूले बताएका छन् ।

यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने विश्लेषकहरूले बताइएका बीबीसीले उल्लेख गरेको छ । यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि तेल संकट समाधानको एउटा सामान्य पहलस्वरूप बाइडेनले पछिल्लो कदम चालेका हुन् ।

रुस साउदी अरब पछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता भएको र रूसबाट तेल खरिदमा प्रतिबन्धको घोषणा गरेसँगै अमेरिका, यूरोपलगायत विश्व बजारमा तेलको अभाव देखिएको र तेलको उच्च मागका कारण मूल्य वृद्धि भएको छ ।

यद्यपि कतिपय अमेरिकी सञ्चारमाध्यमले बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेको बताएका छन् । ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ ।

प्रतिक्रिया