एमालेलाई भारत भ्रमणबारे किन खबर भएन ? ओलीले भने- देउवा आएपछि सोध्छु
काठमाडौं । तीनदिने भ्रमणबारे नेकपा एमालेसँग सल्लाह नै नगरी प्रधानमन्त्री शेरबहादुर देउवा भारततर्फ प्रस्थान गरेका छन् । प्रमुख प्रतिपक्षीसँग छलफल नगरी देउवा भारततर्फ लागेपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।
महत्त्वपूर्ण मानिएको भारत भ्रमणका लागि बलियो प्रतिपक्षीसँग सामान्य छलफल पनि सत्ता गठबन्धनले गर्न किन आवश्यक ठानेनन् चासो र चिन्ताको विषय बनेको छ । संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेका छन् । देउवा भारततर्फ प्रस्थान गर्दा एमाले भने हामीलाई खबरै नगरी गए भन्दै दु:ख मनाउ गरिरहेको छ ।
देउवाले सत्ताको बागडोर सम्हाल्ने मौका पाँचपटक पाइसकेका छन् । राजनीतिक हिसाबले पनि निकै अब्बल मानिएका देउवाले भ्रमणबारे एमालेलाई थाहा नै नदिनुलाई गम्भीर त्रुटिका रुपमा हेर्न सकिन्छ । देउवालाई साथ दिने पार्टी संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र र चौथो ठूलो दल नेकपा एकीकृत समाजवादीले पनि एमालेलाई खबर गर्न किन उचित ठानेनन् । देशको दुईपटक प्रधानमन्त्री भइसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका एक/एकपटक प्रधानमन्त्री भएका माधवकुमार नेपाल र झलनाथ खनालतिर पनि प्रश्न सोझिएको छ । सत्ता गठबन्धनमा खारिएका नेता र वर्षौंदेखि राजनीति गरेका नेता भएकाले खबर नै नगर्नुलाई रहस्यमय ढंगले हेरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल होस् र देशका लागि उपलब्धिपूर्ण होस् भनेर सबैले सोचेका छन् । तर एमाले भने हामीलाई खबर गरिएन भनेर चिढिएको छ । एमालेका नेताहरुले खबर नगरिएकामा खुलेर विरोध गरेका छन् । उनीहरुले देउवालाई प्रश्न गरे ? देउवाको यो भ्रमण निजी पारिवारिक हो कि प्रधानमन्त्रीको हैसियतले भएको हो ? थाहा नै नभएको गुनासो एमालेजनले गरेका छन् ।
नेकपा एमालेका नेता विष्णु रिजालले देउवाको भारत भ्रमणबारे समाचार सम्प्रेषण भएपछि मात्र थाहा पाएको स्पष्ट पारे । उनले संसद्कै ठूलो दल एमालेलाई जानकारी गराउनसम्म सत्ता गठबन्धनले किन चाहेन भनेर प्रश्न गरे । उनले संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्त्वपूर्ण विषयमा एमालेलाई किन एक्लाइयो भनेर सरकारलाई प्रश्न गरे ।
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरुले प्रधानमन्त्रीले एमालेसँग केही जानकारी लिन किन आवश्यक ठान्नु भएन त्यो प्रधानमन्त्रीलाई सोध्नुपर्ने बताउँछन् । तर सत्ता र प्रतिपक्षबीच जस्तोसुकै असहमति र राजनीतिक प्रतिशोध भए पनि छिमेकी देशको भ्रमणलाई केटाकेटी खेलेको रुपमा हेर्न नहुने बताउँछन् । एक कूटनीति विश्लेषकले प्रधानमन्त्री देउवाले एमालेलाई थाहा नै नदिइ गरेको भ्रमणमा के रहस्य छ भनेर प्रश्न गरे ? उनले भने, ‘राजनीतिक प्रतिशोध साँध्न हिजो एमालेसँग रहेर सरकार सञ्चालन गरेका दलले खबर गर्नु पर्दैन भने पनि देउवाले त्यति बुझ्ने कुरा हो । प्रतिपक्ष भनेको वेटिङ सरकार हो । देउवाले भारत गएर गरेका निर्णयहरु पछि कार्यान्वयनमा कति चुनौती होला त्यो प्रधानमन्त्री स्वयंले बुझ्नुपर्ने हो ।’
एमालेले देउवाको भारत भ्रमणलाई पारिवारिक भ्रमणबारे व्याख्या गर्ने विश्लेषकहरु ठोकुवा गर्छन् । एमालेले प्रतिशोध साँध्न चाहे पछिका दिनमा सक्छ । एक विश्लेषकले भने, ‘एमाले भोलिका दिनमा सरकार आउदैन भनेर कसले भन्न सक्छ । एमालेको सरकार आएपछि देउवाले गरेका सबै निर्णय र भारत भ्रमणका क्रममा भएका सम्झौता नमाने के हुन्छ ? देउवाको भारत भ्रमण बालुवामा पानी हालेजस्तै हुन्छ ।’
देशको प्रधानमन्त्रीले सामान्य मूल्य र मान्यतालाई तिलाञ्जली दिएर एमाले देशमै नभएजस्तै गरी भारत प्रस्थान गरे । एमालेका एक नेताले भने देउवाले प्रधानमन्त्रीको हैसियतमा भारतको भ्रमण गरेका हुन् ? प्रश्न गर्दैै उनले भने, ‘प्रधानमन्त्रीपत्नी आरजु राणा पनि सँगै हुनुहुन्थ्यो । म त पारिवारिक भ्रमण हो भन्ने ठानेको थिएँ । खै प्रधानमन्त्रीले भारत भ्रमण गर्दै हुनुहुन्छ भनेर हामीलाई त केही खबर नै आएको छेन । फेरि मेरो मतलब उहाँले भ्रमणमा पत्नी लैजान हुँदैन भन्ने होइन । तर, हामीलाई खबर नभएकाले पारिवारिक भ्रमण हाे कि ? भन्ने शंका मात्र गरेको हो ।’
सञ्चारमाध्यममा प्रधानमन्त्री तीनदिने भारत भ्रमणमा जाँदै भनेर साता दिनदेखि समाचारहरु आएका छन् । तपाईंले थाहा पाउन चाहनु भएन कि चासो लिनु भएन भन्ने प्रश्नमा उनले भने, ‘उहाँ त देशको प्रधानमन्त्री हो प्रतिपक्षीसँग कस्तो सम्बन्ध बनाउने सत्ता गठबन्धनका दलसँग कस्तो सम्बन्ध बनाउने उहाँलाई थाहा हुनुपर्छ । साँच्चै प्रधानमन्त्रीले एउटा कार्यक्रममा भन्नुभएको सुनेको थिएँ । सत्ता गठबन्धनको अहित हुने कुनै खालका काम र कुरा गर्दिनँ र सायद गठबन्धनका दलले चित्त दुखाउँछन् भनेर हामीलाई जानकारी नगराएको हुनसक्छ । फेरि तपाईंहरुलाई थाहा छ त हाम्रै पार्टीबाट प्रधानमन्त्री भएका एकजनाले अर्कै पार्टी खोलेका छन् । अर्को एकजना नेकपा हुँदा जोडिनु भएकालाई प्रथम कार्यकारी अध्यक्ष चाहिएको थियो । उहाँहरुको चित्त नै सानो छ । बाँकी कुरा आफै बुझ्नुस् ।’
नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे आफ्नो पार्टीले सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको स्पष्ट पारे । भट्टराईले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमण जाने कुरा हामीले मिडियाबाट थाहा पाएका हौं । संसद्को पहिलो पार्टीसँग किन जाँदै छु, के-के विषयमा कुरा गर्छु, भनेर परामर्श गर्नुभएको छैन । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाडौं बाहिर हुनुहुन्छ । उहाँसँग कुरा गरेको पनि मलाई औपचारिक जानकारी छैन ।’
प्रधानमन्त्रीले नेपाल र भारतको बीचमा रहेका यावत् समस्याबारे कुराकानी गर्न सक्नुपर्ने डा. भट्टराईले औंल्याए । उनले भने, ‘भारतसँग नेपालको व्यापार घाटा असाधारण छ । निर्यात घट्दो छ । सीमाका समस्या छन् । नेपाली साइडमा डुबान परिरहेकै छ । भारतले ईपीजी प्रतिवेदन बुझ्दिन पनि भनेको छैन, बुझ्न आनाकानी गरिरहेको छ । यी अवस्थाको बारेमा गहिरो ख्याल राखेर प्रधानमन्त्रीले आगामी दिनमा थप समस्या सिर्जित नहुन् भनेर वार्तामा बस्नुपर्छ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि शुक्रबार काठमाडौंमै अनेरास्वियूको राष्ट्रिय भेलामा प्रधानमन्त्री देउवा किन भारत गएका रहेछन् ? भनेर प्रश्न गरे । उनले देउवालाई आएपछि भारत किन गएका हुन् भनेर सोध्ने पनि सोही मञ्चबाटै घोषणाा गरे । उनले देउवाको भारत भ्रमणबारे एमाले बेखबर रहेको पनि स्पष्ट पारे । ओलीले देउवा फर्किएपछि थप कुरा गर्ने बताए ।
प्रतिक्रिया