बिहीबार, मंसिर २७, २०८१

तत्काल आन्दोलनका कार्यक्रम स्थगन गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह

नेपालखोज २०७८ चैत १८ गते २२:०७

काठमाडौं । नेपाल आयल निगमले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिलाई आन्दोलनका कार्यक्रमहरु स्थगन गर्न आग्रह गरेको छ ।

निगमले आज विज्ञप्ति जारी गर्दै हाल निगमका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीहरु एनओसी-आइओसी सुप्ली सम्झौता नविकरण गर्ने सिलसिलामा भारतमा रहेको हुँदा उनिहरु फर्किए पछि पेट्रोलियम विक्रेता, ढुवानी व्यवसायी महासंघ तथा नेपाल एलपी ग्यास उद्योग संघका मागका सम्बन्धमा आवश्यक निर्णय गर्ने जनाएको छ ।

हाललाई आन्दोलनका कार्यक्रमहरु स्थगन गरी आम उपभोक्ताहरुले पेट्रोलियम पदार्थहरु सरल र सहजरुपले प्राप्त गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । साथै निगमले शनिबार पनि निगमका बिक्री कार्यालय तथा डिपोहरु खुल्ला रहने निगमले जनाएको छ ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्नेलगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका छन् ।

उनीहरूले शुक्रबारदेखि डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेका छन् । जसले गर्दा पम्पहरूबाट हुने इन्धनको बिक्री वितरणमा असर परेको छ । आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएको समयमा निगमले भने तत्काललाई आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया