मंगलबार, जेठ ८, २०८१

बनारसमा प्रधानमन्त्री देउवाको ‘प्रोग्राम सेड्युल’ !

राणाशाहीको समाप्तिपछि यो मन्दिरको सञ्चालन नेपाल सरकारले गर्दै आएको छ । यहाँ एउटा वृद्धाश्रम सञ्चालनमा छ जहाँ नेपाली वृद्धवद्धा बस्छन् ।

नेपालखोज २०७८ चैत १९ गते १४:०३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (आइतबार) भगवान् भोले शंकर बाबा विश्वनाथको सहर काशी (जसलाई बनारस, वाराणसी पनि भनिन्छ) को भ्रमण गर्दै छन् । काशीमा प्रधानमन्त्री देउवाले बाबा विश्वनाथको दर्शनका साथ गंगा नदीको किनारमा अवस्थित पशुपतिनाथ मन्दिरको समेत दर्शन गर्ने कार्यक्रम छ ।

भनिन्छ काशीमा एउटा मिनी नेपाल बस्छ । यो भनाइका पछाडि अनेक कारण छन् । बनारसस्थित बाबा विश्वनाथको मन्दिर नजिक नेपाली मन्दिरको नामले प्रसिद्ध एउटा मन्दिर छ । काठमाडौंस्थित पशुपतिनाथको मन्दिरकै आकृतिको यो मन्दिरको निर्माण सन् १८४४ तिर भएको बताइन्छ । भगवान् शिवप्रति समर्पित यो पशुपति मन्दिर बनाउने इच्छा सन् १८०० देखि १८०४ सम्म नेपालबाट निर्वासित भएर काशी पुगेका नेपालका राणा प्रधानमन्त्री रणबहादुर शाहले देखाएका थिए ।

उनको निधनपछि उनका छोरा युद्धवीर राणाले ४० वर्षपछि यो मन्दिरको निर्माण सम्पन्न गराएको बताइन्छ । दिल्लीमा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटघाटपछि जब नेपाली प्रधानमन्त्री देउवा मोदीको संसदीय क्षेत्र काशी पुग्नेछन् तब त्यहाँ उनको स्वागत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने कार्यक्रम छ । नेपाली प्रधानमन्त्री शेरबहादुर देउवाको वाराणसी भ्रमणको तयारी लगभग पूरा भइसकेको छ ।

No description available.

यसका लागि नेपाली अधिकारीहरु काशी पुगेका छन् भने उनीहरुले भारतीय अधिकारीहरुका साथ प्रधानमन्त्री देउवाको भ्रमणको खाका तयार गरेका छन् । भनिन्छ प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बिहान नेपाली समयअनुसार सवा ९ बजे बनारस पुग्नेछन् । बनारस एयरपोर्टमा उनको स्वागत योगी आदित्यनाथले गर्ने बताइएको छ । त्यहाँबाट दुवै नेता सीधैं काशी विश्वनाथ मन्दिर जानेछन् । बाबा विश्वनाथको दर्शन एवं पूजनपछि प्रधानमन्त्री देउवानजिकैको पशुपतिनाथ मन्दिर पुग्ने कार्यक्रम छ ।

त्यहाँ देउवाले वृद्धाश्रम पूर्निर्माणका लागि भूमि पूजन गर्ने बताइएको छ । प्रधानमन्त्री देउवाको बनारस भ्रमण करिब डेढ घण्टाको हुनेछ ।

पशुपतिनाथ मन्दिरलाई जोडिय‍ो

विश्वनाथ मन्दिर करिडोरसँग हालै निर्माण सम्पन्न विश्वनाथ मन्दिर करिडोरसँग नेपाली मन्दिर अर्थात् बनारसको पशुपतिनाथ मन्दिरलाई पनि जोडिएको छ । अहिले नवनिर्मित विश्वनाथ करिडोरमा बाबा विश्वनाथको दर्शनपछि करिडोर बाहिर ननिस्किइ पशुपतिनाथको दर्शन गर्न सकिन्छ ।

मान्यताअनुसार बार ज्योतिर्लिङको दर्शनपछि यदि पशुपतिनाथक‍ो दर्शन गरिएन भने त्यो तीर्थ अधुरै हुन्छ । अहिले कतिपय भक्तहरु काठमाडौं आएर पशुपतिनाथको दर्शन गर्न नसक्दा गंगा नदीको किनारस्थित यही पशुपतिनाथ मन्दिरको दर्शन गरेर चित्त बुझाउँछन् ।

No description available.

समरेश्वर महादेवको नामले पनि चिनिने नेपाली मन्दिर अर्थात् पशुपतिनाथ मन्दिरको सञ्चालन पहिले नेपालको राणा परिवारकै तर्फबाट हुनेगरेको थियोे । राणाशाहीको समाप्तिपछि यो मन्दिरको सञ्चालन नेपाल सरकारले गर्दै आएको छ । यो मन्दिर परिसरमा एउटा वृद्धाश्रम पनि सञ्चालनमा छ जसमा नेपाली वृद्धवद्धा बस्छन् । आफ्नो जीवनको आखिरी चरण बाबा भोले शंकरको चरणमा बिताउन चाहनेहरु त्यहाँ पुग्ने गरेका छन् जसलाई काशिवासी पनि भनिन्छ ।

बनारसमा बाबा विश्वनाथको चरणमा मृत्युवरण गर्न पाए मुक्ति पाइन्छ भन्ने मान्यता पनि चलिआएको छ । काशीमा विश्वनाथ करिडोर निर्माण सम्पन्न भएसँगै जर्जर भइसकेको य‍ो वृद्धाश्रमको पनि पुनर्निर्माण गरिँदै छ जसको भूमिपूजन प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गर्नेछन् ।

बनारसस्थित पशुपतिनाथ मन्दिरको यो वृद्धाश्रममा अहिले ३० जना महिला तथा ६५ जना पुरुष नेपाली वृद्धवृद्धाहरुले काशिवासी जीवन गुजारिरहेको बताइन्छ ।

No description available.

प्रतिक्रिया