वीरगन्जमा राजनीतिक दलको सक्रियता बढ्यो
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ । राजनीतिक दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरेका छन् । केन्द्रीयस्तरका नेतालाई बोलाउने र राजनीतिक प्रभाव तयार गर्ने कार्यक्रमले पनि जिल्लामा चुनावी माहोल तातेको स्पष्ट हुन्छ ।
तराईमा गर्मीसँगै चुनावी सरगर्मी पनि बढेको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत सबै दलले चुनाव केन्द्रित कार्यक्रम गर्न थालेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पर्साका ग्रामिण भेगमा संगठन विस्तार गर्दै पार्टी प्रवेश कार्यक्रमलाई जोड दिइरहेको छ । जिल्लाका विभिन्न नेता, कार्यकर्तालाई काठमाडौंसम्म पुर्याएर पनि पार्टी प्रवेश गराईरहेको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादी सहित अन्य राजनीतिक दलहरुले पनि जिल्लामा चुनावी गतिविधि बढाउँदै छन् ।
राजनीतिक दलहरुले चुनावलाई लक्षित गरी पार्टी प्रवेश, प्रशिक्षण, संगठन बिस्तारका कार्यक्रम गरीरहेका छन् । स्वतन्त्र उम्मेदवारको चाहाना राख्नेहरु पनि व्यक्तिव्यक्तिसँगको भेटघाटमा व्यस्त देखिन्छन् । जिल्लामा एक महानगरपालिका, ३ नगरपालिका र १० वटा गाउँपालिका गरि १४ वटा स्थानीय तह रहेका छन् । पर्सामा हालसम्म सत्तागठबन्धन मध्येको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहेकका सबै पार्टीका अध्यक्ष र शिर्ष नेताहरु आईसकेका छन् । चैत १० गते लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो वीरगञ्ज पुगेर नेता, कार्यकर्तालाई प्रशिक्षण दिदैँ स्थानीय तहको निर्वाचनमा जित्ने गरी खट्न निर्देशन नै दिए ।
त्यसैगरी, चैत ९ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल एमाले प्रवेश गरे । मधेसवादी दलकै लोकप्रिय नेतालाई भित्र्याएर उम्मेदवार बनाउँदा एमालेलाई ‘मधेस मुद्दा’ समेत आफंैसँग रहेको दर्शाउन सहज हुने तर्क स्थानीय नेताहरुको छ । पाँच वर्षअघि ‘एमाले हौं’ भनेर खुलेर हिँड्न नसक्ने पर्सामा आज मधेस आन्दोलनको अग्रभागमा रहेका नेताहरु नै एमाले प्रवेशका लागि तछाडमछाड गरिरहेका छन् ।
एमाले रुपान्तरित भएको र एमालेले विकासको मुद्दा बोकेकाले आफू एमाले प्रवेश गरेको नेता पटेलले बताए । उनले भने, ‘कुनै बेला एमालेले मधेशका मुद्दालाई सम्बोधन गर्न हिच्किचाएको थियो । तर अहिले नेकपा एमाले आफै रुपान्तरित भएर आएको छ । अब मधेशको पहिचान प्राप्त भइसकेपछि मधेशको विकास कसरी हुन्छ, त्यो ठुलो मुद्दा हो । एमाले नेपाललाई समृद्ध बनाउने काममा अगाडी बढेको हुनाले हामीले जसले मधेशको विकास गर्छ त्यो सँग जानु उचित हुन्छ । त्यसैले म अहिले नेकपा एमाले प्रवेश गरेको हुँ ।’
स्थानीय जानकारहरूका अनुसार यसपटक वीरगञ्ज महानगरपालिकामा एमाले, कांग्रेसर जसपाकैबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पर्साको स्थानीय तहको प्रमुखमा निर्वाचित भएका चारजना जनप्रतिनिधिहरुले आफू निर्वाचित भएको पार्टी छाडिसकेका छन् । जिल्लाको एक महानगरपालिका, एक नगरपालिकाका नगरप्रमुख र दुई गाउँपालिकाका अध्यक्षहरुले आफू निर्वाचित भएको पार्टी छाडेका हुन् ।
प्रतिक्रिया