‘भारत भ्रमणबारे प्रधानमन्त्रीले वास्ता नगरेको भन्ने ओलीको भनाइ झुटो हो’
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणपूर्व प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षलाई वास्ता नगरेको भन्ने आरोप असत्य भएको बताएका छन् । आज बिहान नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा काठमाडौंमा आयोजित दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने,‘प्रधानमन्त्रीजीले कुराकानी पनि गरेन्, छलफलमा बोलाउन भएन, फोन समेत गरेन् ,वास्तै गर्नुभएन भन्ने जुन प्रचार एमाले अध्यक्ष ओलीका निकटस्तहरुबाट भैरहेको छ । त्यो सरासर असत्य हो। झूट हो , प्रधानमन्त्रीले छलफलका लागि बोलाएको हो । उनले म बाहिर हुन्छु । आउन सक्दिन भने । आफू आउन नसक्ने । आउदिन भन्ने अनि अहिले आरोप लगाउने?’
पूर्वपरराष्ट्र मन्त्री डा.महतले नेपाली कांग्रेसले सधै सत्य बोल्ने र बोले अनुसार काम गर्ने गरेको पनि बताए । उनले नेपाली कांग्रेसले देशको हित र देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको उल्लेख गरे । उनले भने,‘हामी सत्तामा हुँदा पनि नहुँदा पनि आफ्नो बोली,बचन र अडान फेर्दैनौ ।’
आफू परराष्ट्रमन्त्री हुँदा पनि र नहुँदा पनि विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुसंग नेपालका हित र चासोका विषय स्पष्ट राख्ने गरेको बताए । महतले प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नेपालको हित र राष्ट्रिय चासोका सबै विषयहरु उठाउने दावी गर्दै भने, ‘उनले सबै कुरा उठाउनु हुन्छ । तत्काल भोलि नै टुंगो लाग्छ भन्ने होइन । तर विषय उठाउनु हुन्छ ।’ उनले नेपाल र भारतका बीचमा सीमा समस्याबाहेक अन्य सम्बन्ध सुमधुर रहेको पनि दावी गरे ।
कांग्रेस प्रवक्ता महतले एमसीसीको प्रसंग निकाल्दै कम्युनिष्ट पार्टीहरुमा जे बिषयलाई पनि राष्ट्रियतासंग जोडेर जनता भड्काउने प्रवत्ति रहेको उल्लेख गरे । उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका सरकारहरुले समेत अगाडि बढाएको एमसीसी अनुदान सहयोग सम्झौताका बारेमा सो सम्झौतामा उल्लेख नै नभएका विषय उठाएर जनतालाई दिग्भ्रमित बनाउन खोजिएपछि नेपाली कांग्रेसले सत्य बोल्न विवस भएको पनि उल्लेख गरे ।
उनले बी.पी.कोइरालाको जब सत्यको मुख बन्द हुन्छ, झूटोका थुतुनो चल्छ भन्ने भनाई उदृत गर्दै भने, ‘यो अनुदान सहयोग हो । यसको साँवा ब्याज तिर्न पर्दैन । यो नेपालको माग अनुसार आएको हो । यो विद्युत र सडक निर्माणका तोकिएका परियोजना बाहिर खर्च गर्न पाइदैन । यसको सञ्चालन नेपालको अर्थसचिव अध्यक्ष रहने एमसीएबाट हुन्छ । प्रतिस्पर्धामा ठेक्का लाग्छ । परियोजनाहरु पूरा भएपछि त्यसका भौतिक सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण हुन्छ । यथार्थ बाहिर आएपछि विरोध गर्नेहरु पनि समर्थनमा आए र संसदबाट पारित भयो ।’
महतले खेलकूदमा युवाहरुको मोह रहेको र यसका विधा पनि ब्यापक भएकोले यसको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । त्यागी, सादा र सरल व्यक्तित्वका धनी नेपाली कांग्रेसका संस्थापक नेता, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई पुनस्मरण गराउदै कांग्रेसको इतिहासलाई वर्तमान युवा पुस्तासंग जोड्न खेलकूद प्रतियोगिता आयोजना गरेको आयोजकलाई धन्यवाद पनि दिए । उनले म्याराथनका विजयी,प्रतिस्पर्धी र सहभागी सबैलाई बधाई पनि दिएका छन् ।
प्रतिक्रिया