सोमबार, जेठ ७, २०८१

सार्वजनिकको १० र मालवाहक गाडीको १५ प्रतिशत भाडा वृद्धि

नेपालखोज २०७८ चैत २० गते १६:४२

काठमाडौं । सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आज एक विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक गाडीको भाडा १० र मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म प्रतिशतसम्म बढाइएको जनाएको छ ।

त्यस्तै, पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । भाडा एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै बढेको छ । लोकल रुटको भाडा भने यथावत रहेको विभागले जनाएको छ । अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्योअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

यसअघि सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्था अनुसार पेट्रोलमा पाँच रुपैयाँ मूल्य घटबढ भएपछि मात्र भाडा समायोजन हुँदै आएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।

यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो । तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले २७ असारमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जा मूल्यवृद्धिलाई आधार बनाएर भाडा बढाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए । यस पटक भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भाडा बढाउने प्रस्ताव मन्त्रीपरिषाद्मा लगेकी हुन् ।

प्रतिक्रिया