एमाले चुनावमा एक्लै लड्छ, कसैसँग तालमेल आवश्यक छैन : उपाध्यक्ष पौडेल
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन् । उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए ।
उनले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरुमा जित्ने बताए । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशत भन्दा तल भने नझर्ने उनले दाबी गरे । आज संचारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा(माओवादी केन्द्र) लाई चेतावनी समेत दिए ।
उनले माओवादी केन्द्रसँग तालमेलका लागि कुनैपनि प्रकारको सम्वाद नभएको स्पष्ट पारे । माओवादी केन्द्र र एमालेको बिचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाई प्रति टिप्पणी गर्दै उनले सो कुरा हाँस्यास्पद भएको बताए ।
कम्युनिष्ट सरकार ढालेर कांग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धन बनाउने माओवादी केन्द्रलाई चाहीँ ग्लानी र पश्चाताप हुनुपर्ने उनले बताए । माओवादी केन्द्रसँग कुनै पनि प्रकारको वार्ता गर्नु आवश्यक नरहेको एमाले उपाध्यक्ष पौडेलले बताए । सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा एकले अर्कोलाई एमालेसँग मिल्छु भनेर तर्साउने गरेको भन्दै एमाले कसैको भर्याङ नबन्ने उनले बताए ।
प्रतिक्रिया