कञ्चनपुरको बेदकोट नगरका मेयरसहित २६ जनप्रतिनिधि नेकपा एस प्रवेश
नेपालखोज
२०७८ चैत २० गते १९:२१
काठमाडाैं । कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दसहित २६ जना निर्वाचित जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
पार्टीको नगरस्तरीय आमसभामा आज समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नगरप्रमुख चन्दसहित पाँच जना वडाध्यक्ष र वडा सदस्यलाई पार्टी प्रवेश गराएका छन् । समाजवादी प्रवेश गर्ने चन्दसहित जनप्रनितिधि विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।
नगरप्रमुख चन्दले पार्टीमा अपमानित र षड्यन्त्रहरू हुन थालेपछि बाध्य भएर पार्टी परिवर्तन गर्नुपरेको बताउनुभयो । उहाँले १० बुँदे पक्षधर तथा पूर्वमाओवादीबाट एमालेमा रहेकालाई जिल्लामा विभेद गर्नुका साथै जिम्मेवारीबाट वञ्चित गराएको बताउनुभयो । गत पुसमा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा सचिव पदमा झिनो मत अन्तरले पराजित भएका चन्दले आफू निकट नेता तथा कार्यकर्ता जिल्ला नेतृत्वको पेलानमा परेको दाबी गर्नुभयो ।
विसं २०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमालेको राजनीतिमा लागेका चन्दले २२ वर्ष पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको अनुभव सुनाउनुभयो । एमाले र माओवादी एकीकरणपछि उहाँ पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहनुभएको थियो । नगरप्रमुख चन्दसँगै एमालेका जिल्ला कमिटी सदस्य एवं बेदकोट नगरपालिकाका युवा नेता रामचन्द्र रेग्मीलगायत सयौँ नेता तथा कार्यकर्ताहरू समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी बेदकोट नगर कमिटीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया