लालीगुराँसले ढकमक्क घोडेपानी र पाथीभरा मन्दिर जाने पदमार्ग, कहाँ फुल्छ यो फूल ?

काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखाको जङलमा ढकमक्क लालीगुराँस फुलेको छ । लालीगुराँसले रङ्गिएसँगै घोडेपानी आकर्षक र मनमोहक बनेको हो ।
लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रूपमा २०१९ सालमा मान्यता दिइएको हो । नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिएको छ । नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ । यस्तै नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा लालीगुराँस अङ्कित छ । नेपालको राष्ट्रिय फूल भएका कारण लालीगुराँस धेरैपटक हुलाक टिकट तथा हुलाक वस्तुमा प्रकाशन भइसकेको छ । अङ्ग्रेजीमा ‘रोडोडेनड्रन’ भनेर चिनिने यो मनमोहक फूलका विभिन्न प्रजाति संसारभरि नै पाइन्छ ।

हालै प्रकाशित कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा नेपालमा ३३ प्रजातिका गुराँस पाइने उल्लेख छ । संसारमा लालीगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य पाँच गुराँस पाइन्छन् । समुद्री सतहबाट गुराँस एक हजार ३०० देखि चार हजार ६०० मिटरको उचाइमा पाइने यो फूल वसन्त ऋतुमा फुल्छ । लालीगुराँस साधारणतया माघ-फागुनदेखि वैशाख-जेठसम्म फुल्ने गर्छ । तर, छिटो फुल्ने ठाउँमा पुस महिनामा पनि फुलेको देखिन्छ । यो फूल फुलेपछि डाँडाकाँडा नै रङ्गीन र मनमोहक हुन्छ । लालीगुरासँको बोट १० सेमिदेखि २० मिटरसम्म अग्लो हुन्छ । पातको लम्बाइ लगभग पाँचदेखि १५ सेमिसम्म हुन्छ ।

फूलको आकार औसत अरू फूलभन्दा केही ठूलो हुन्छ । घण्टीजस्तो देखिने १५ देखि २० वटा फूलका झुप्पा भई फूल्छ । रूखको उचाइ र आकार ठाउँअनुसार फरक हुन्छ । यो रातो, गुलाबी, सेतो आदि रङको हुन्छ । पहाडी भू-भागमा यसको रूख मध्यमखालको हुन्छ भने उच्च पहाडी भागमा धेरै ठूलो र झ्याम्म परेको हुन्छ ।

लालीगुराँस फूल भारतको उत्तराखण्ड र कास्मिर राज्यको प्रान्तीय फूल, सिक्किम राज्यको प्रान्तीय रूख हो । यस्तै अमेरिकी राज्य वेस्ट भर्जिनियाको प्रान्तीय फूल र यस राज्यको प्रान्तीय झन्डामा यो फूल अङ्कित छ ।

प्रतिक्रिया