बिहीबार, मंसिर २७, २०८१

प्रधानमन्त्री देउवा पत्नीसँग भारत घुमेर मात्र आए : ईश्वर पोखरेल

नेपालखोज २०७८ चैत २१ गते ११:१९

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केहि उपलब्धि हासिल नगरेको बताए ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरे । नेपालको संसदले सर्वसम्मत रुपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको उनको आरोप छ । उनले भने, ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसावले जसरी भ्रमणमा प्रस्तुत हुनुपर्थ्यो त्यो गर्न सक्नुभएन ।’

उनले विचार र कामको आधारमा निर्वाचन हुने भएकाले पाँच गठबन्धन आए पनि एमाले एक्लै काफी हुने उनले दाबी गरे ।उनले भने, ‘हामीले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने हाम्रो प्रयत्न हो ।’

सेटिङमा चलेको विषाक्त छालले निर्वाचन आयोगलाई पनि प्रभावित गर्न सक्ने भन्दै उनले संवेदनशिल विषयमा निर्णय गर्दा पनि आयोगले दलहरूसँग छलफल नै नगरेको बताए । उनले भने, ‘मनोनयन दर्ता गर्ने समय दुई दिन रे । केका लागि दुई दिन ? आयोगले पनि दलहरूसँग परामर्श गरेको छैन । मतपत्रको रङको विषय पनि अनौठो छ ।’

प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धि विहीन भएको उनले स्पष्ट पारेका हुन् । उनले भने, ‘उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम गर्नुभएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासँग गएर भारत घुमेर मात्रै आएका हुन् ।’

राष्ट्रिय अडानलाई पनि प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको उनले बताए । नेपाल र भारतको सहमतिमा गठन भएको ईपीजी प्रतिवेदनको विषयमा मुख नखोलिएको उनले बताए । स्थानीय आवश्यकताका आधारमा स्थानीय तहमा चुनावी तालमेल हुनसक्ने उनले बताए । चुनावका लागि केन्द्रीय तहबाट भने गठबन्धन नहुने उनले बताए । उनले भने, ‘स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा अन्य दलसँग तालमेल गर्नु अलग कुरा हो । तर, केन्द्रीय तहबाट कुनै दलसँग चुनावी तालमेल हुँदैन ।’

एमाले कुनै दलसँग गठबन्धन गर्ने पक्षमा नरहेको उनले बताए । प्रचण्डले कम्युनिष्ट पार्टी विभाजन गरेर कांग्रेसलाई सत्ता सुम्पिएको भन्दै उनले माओवादी केन्द्रसँग गठबन्धन नहुने प्रष्ट्याए । राष्ट्रिय अडानलाई पनि प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको उनले बताए । नेपाल र भारतको सहमतिमा गठन भएको इपीजी प्रतिवेदनको विषयमा मुख नखोलिएको उनले बताए ।

प्रतिक्रिया