‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो : बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको त्रिभुवन विमानस्थलमा नेकपा माओवादीका नेता वर्षमान पुन र अभिनेत्री रेखा थापासँग जम्काभेट भएको छ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. भट्टराईको सोमबार एअरपोर्टमा पुन र थापासँग भेट भएको हो ।
उनीहरु एक समय एउटै पार्टीमा भएका तीनजना अहिले तीन पार्टीमा आवद्ध छन् । वर्षमान पुन माओवादी केन्द्रमा छन् भने रेखा थापा राप्रपामा लागेर चुनावी प्रचार-प्रसारलाई तीव्र बनाउँदै हिँडेकी छन् । भट्टराई भने नयाँ शक्ति हुँदै मधेसलाई मुख्य भूमिका र मुद्दामा राखेर राजनीति गर्ने दल जसपातीर लागे । माओवादीमा हुँदा दोस्रो हैसियतका बाबुराम अहिले पनि दोस्रो वरियतामा नै पर्छन् ।
जम्का भेट पछि बाबुरामले तस्बिर लिए । अनि सामाजिक सञ्जालमा लेखे , ‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासग जम्काभेट ! ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हासो पनि चल्यो!’
रेखा थापा ‘नलाउ माया दुईतिर’ भन्ने गीतमा तत्कालीन माअओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एउटै मञ्चमा नाचेकी थिइन्। त्यसपछि माओवादी प्रवेश गरेकी थिइन्। उनको र प्रचण्डको नृत्यले चर्चा बटुलेको थियो । कमल थापासँग नजिकिएर राप्रपा प्रवेश गरेकी रेखाले अहिले राप्रपाको संस्थापन पक्षलाई खुलेर साथ र समर्थन दिइरहेकी छन् ।
प्रतिक्रिया