मार्सीको बीउ राख्दै किसान, कसरी चर्चा पायो यो धानले विगत र वर्तमान यस्तो ?
काठमाडाैं । कालीमार्सी धानको बीउ राख्न थालिएको छ । पछिल्लो समयमा देश तथा विदेशबाट अत्याधिक रुपमा मार्सी चामलको माग दिन प्रतिदिन बढ्दै गएपछि कालीमार्सी धान खेती गर्ने किसानको सङ्ख्या बढ्न थालेको जुम्लाको चन्दननाथ नगरपालिकाका किसानले बताएका छन् ।
कालीमार्सी धानबारे
संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८ सय ५० मिटर उचाइको भूमिमा फल्ने गर्दछ । मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो अन्नबाली केही समययतादेखि नेपाली बजारको आकर्षण पनि बनेको छ ।
तत्कालीन राजा महाराजाहरूले खाने र उच्चकोटीको अन्नका रूपमा हेरिने कालीमार्सीलाई त्यस समयको मात्र नभएर यतिबेला पनि विशेष महत्त्वको अन्नका रूपमा लिने गरिन्छ । मूल्यका हिसाबले हुनेखाने र उत्पादक किसानबाहेक सजिलै यो चामल सामान्य वर्गको पहुँचमा त्यति हुँदैन ।
तत्कालीन गौँडा प्रशासनका बेला श्री ३ महाराजालगायत नेपालका शाह वंशीय राजाहरूलाई प्रतिदिन हुलाकबाट पाँचदेखि १० केजीसम्म पठाइने चामल महिनौँ दिनपछि काठमाडौँ पुग्ने गर्दथ्यो । अहिले पनि शक्तिशाली र उच्च ओहदाका व्यक्तिहरूको आहारा बन्ने गर्छ कालीमार्सी ।
तर पनि बजारमा सजिलै सबैले भन्नेबित्तिकै यो चामल पाउन भने कठिन छ । जुम्लामा सामान्य वर्गले उपभोग र बिक्रीवितरण गरे पनि निर्यातपश्चात् बाहिरी जिल्लामा जाँदा विशिष्ट व्यक्तिहरूको आहाराको प्रमुख परिकार बन्दछ । अर्गानिक हिमाली उत्पादनका रूपमा पनि परिचित छ जुम्लीमार्सी धान ।
यसको मूल्य बजारमा पाइने विभिन्न प्रकारका चामलभन्दा भने महँगाे छ । कालीमार्सीको खाना, त्यसको स्वाद, प्राप्त हुने पौष्टिक तत्व र ऐतिहासिक वर्णन एवं कथन पनि सामाजिक सञ्जालहरू पनि त्यत्तिकै रङ्गिए । अधिकतम गुणात्मक महत्त्व बोकेको जुम्ली मार्सीलाई भने मुलुककै जेठो धानबालीका रूपमा ठानिँदै आएको छ ।
अर्कोतर्फ विश्व मानचित्रमा विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थानका रूपमा जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलो कालीमार्सी धान फल्ने दृष्टिकोणबाट निकै प्रख्यात छ । नेपाल कृषि अनुसन्धान परिषद्, खाद्य अनुसन्धान विभाग, खुमलटार (२०२०) को तथ्याङ्कअनुसार जुम्ली मार्सी धान र अन्य रैथाने तथा उन्नत जातका धान (खुमल-४) सँगको तत्वहरूसँग तुलना गर्दा प्रोटिन, पोलिफिनोल, एन्टिअक्सिडेन्ट र फ्ल्यावोन्वाइड कालीमार्सीमा धेरै मात्रमा पाइने गर्दछ ।
मार्सीको क्षेत्र विस्तार
निकै संघर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त भएपछि अहिले मार्सीको क्षेत्र विस्तार भएको छ । देश निरन्तर लकडाउनमा हुँदा पनि मार्सी रोप्न यहाँका किसान व्यस्त भएका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले मुलुक देखा परेको खाद्य संकटले कृषि क्षेत्रलाई प्रथामिकता दिनु पर्ने सिकाई सबैलाई भएको छ ।
जुम्लाको पातारासी गाउँपालिका समुद्र सतहदेखि २८ सय ५० मिटर उचाइमा धान फल्ने छुमचौर ज्यूलोमा प्रत्यक वर्ष धान दिवसका दिन रोपाई महत्सव हुँदै आएको छ । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो । पर्यटन प्रर्वद्धनका लागि पनि धान रोपाईं महत्सवको आयोजना हुने गरेको थियो ।
मार्सी चामलको चर्चा
मार्सी चामलको चर्चा त्यतिखेर ह्वातै बढ्यो जतिखेर दुर्गा प्रसाईंको निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटै टेबलमा बसेर खाना खाए । प्रसाईंले उक्त तस्वीर सार्वजनिक गरे पछि चामलको माग पनि ह्वातै बढेको थियो । उनीहरुले एकै टेबलमा बसेर खाना खाए पछि जुम्ली चामलको भाउ समेत बढेको चर्चा भएको थियो ।
दुई प्रधानमन्त्री भइसकेका व्यक्ति अझ भनाैं चर्चा र नेपाली राजनीतिको शिखरमा रह्ने नेता । ओली र प्रचण्ड एक अर्का आलोचक नै मानिन्छन् । प्रसाईंले एमाले माओवादी मिलाउने तयारी स्वरुप एकै टेबलमा राखेर उनीहरुलाई खाना खुवाएका थिए । तर त्यस समयमा सबैभन्दा बढी चर्चा नै मार्सी चामलको भयाे । मार्सी नाम नै ब्रान्ड भयो भन्दै प्रसाईंले मार्सी बीयर पनि निकालिसकेका छन् ।
प्रतिक्रिया