सोमबार, मंसिर १७, २०८१

सुनचाँदी धितोमा बैंकहरुले दिए ४८ अर्ब कर्जा

नेपालखोज २०७८ चैत २१ गते १४:२९

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले सुनचाँदी धितो दिएर ४८ अर्ब दुई करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो सात महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।

यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमश : ४८ खर्ब ७७ अर्ब ५१ करोड ९० लाख र ४६ खर्ब ९० अर्ब ४८ करोड ८० लाख रुपैंयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप तथा कर्जा रकम भने क्रमश : ४३ खर्ब ११ अर्ब २९ करोड २० लाख र ४१ खर्ब ६३ अर्ब ३० करोड ४० लाख रुपैंयाँ रहेको छ । जसमध्ये सुनचाँदी धितोमा प्रवाह भएको कुल कर्जा रकम ४३ अर्ब २४ करोड ५० लाख रुपैंयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले भने चालु आवको पछिल्लो सात महिनामा चार खर्ब ७२ अर्ब २१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ३९ अर्ब १० करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा मध्ये सुनचाँदी धितोमा मात्र प्रवाह भएको कुल कर्जा रकम भने तीन अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी फाईनान्स कम्पनीहरुले पनि सुनचाँदी धितोमा ९३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा फाईनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमश : ९४ अर्ब एक करोड ३० लाख र ८८ अर्ब आठ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया