मंगलबार, मंसिर १८, २०८१

संघीय संसद्को निर्वाचनपछि प्रधानमन्त्री बन्छु : केपी ओली

नेपालखोज २०७८ चैत २१ गते १९:१६

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनपछि मुलुकमा राम्रो दिनको सुरुवात हुने बताएका छन् । निर्यात् उद्योग व्यवसायी महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको सुरुवात हुने दावी गरे ।

उनले संघीय संसद्को निर्वाचनपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकीर गरे । ओलीले आफ्नो पार्टी निकट निर्यात व्यवसायीहरुलाई पनि निर्वाचन प्रचारका लागि समय निकाल्न आग्रह गरे । अव कोभिड पनि समाप्त हुने चरणमा पुगेकाले व्यवसायीका लागि पनि अवको दिन भने राम्रो हुने उनको भनाई छ । उनले भने, ‘अहिले त हामी चुनावतिर छौं । तपाईहरुले पनि यसो समय निकाल्नु होला । सके प्रचारप्रसार गर्नु होला । सक्नु भएन भने भोट हाल्नु होला । अव मैले यो भन्दा धेरै अरु केही भनिरहनु पर्ला जस्तो लाग्दैन । अव कोभिड पनि समाप्त हुँदैछ । हाम्रो राम्रा दिनहरु अव आउन सुुरु हुन्छ । स्थानीय तह निर्वाचन पछि राम्रा दिन सुरु हुन्छ । पछिको निर्वाचनबाट झ्याप्पै राम्रा दिन आउँछ ।’

ओलीले स्वदेशी बस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरुलाई आग्रह गरे । उनले‍ अनाआवश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना बस्तुहरुको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता रहेको बताए । ओलीले मुलुक रेमिटयान्सले धानिएको उल्लेख गर्दै अव त्यसको भर पर्न नहुने पनि पटकपटक दोहो‍र्‍याए ।

प्रतिक्रिया