युथ फोरमको तयारी अन्तिम चरणमा
काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको युथ फोरमको तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंको एभरेष्ट होटलमा चैत्र २५ र २६ गते हुने ‘को–अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सहभागिताको लागि नाम दर्ताको काम समेत भईरहेको छ ।
उक्त फोरमको सह-आयोजकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए । फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुतीसमेत हुने ढकालले जानकारी दिए ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकालगायतले नेपालमा युवा र उद्यशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने संयोजक ढकालले जानकारी दिए । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठिको प्रमुख उद्देश्य रहेको ढकालको भनाई छ ।
प्रतिक्रिया