शनिबार, मंसिर २९, २०८१

बुचामा ३ सय बढी सर्वसाधारणलाई यातना दिएको र मारिएको जेलेन्स्कीको दाबी

नेपालखोज २०७८ चैत २२ गते ८:००

काठमाडाैं । किएभस्थित आफ्नो कार्यालयबाट युक्रेनी सर्वसाधारणहरूलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ‘३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको’ आरोप लगाएका छन् ।

बीबीसीले स्वतन्त्र रूपमा उक्त दाबीको पुष्टि भने गर्न सक्ने अवस्था छैन । सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए ।

उनले हाल आफूहरूसँग बुचामा मात्रै ‘३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको’ बताउँदै पुरै सहरमा अनुसन्धान गरिदाँ पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताए ।

‘किएभ सहितका क्षेत्रका जिल्लाहरूमा रुसी सेनाले पकड स्थापित गरेका बेला स्थानीय बासीहरूले ८० वर्ष अघि नाजीहरूले कब्जा गर्दा समेत नदेखेका काम रुसी सेनाले गरेको’ उनले बताए ।

जेलेन्स्कीले रुसी सेनाले बुचा सहित अन्य सहरहरू कब्जा गरेको बेला गरेका अपराधहरूको पूर्ण र पारदर्शी अनुसन्धान गर्न आफ्नो सरकार इच्छुक रहेको पनि बताएका छन् ।

बुचासहित किएभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् जेलेन्स्कीले रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको बताएका छन् ।

जेलेन्स्कीले आफ्नो सरकारले त्यस्तो कार्यमा संलग्न रुसी सेनाको पहिचान गर्ने सबै खाले प्रयास गरिरहेको बताउँदै रुसी सेनाबाट पीडित सर्वसाधारणहरूको सङ्ख्या अन्य स्थानमा अझ धेरै हुनसक्ने सूचना रहेको चेतावनी दिए । बीबीसी

प्रतिक्रिया