शुक्रबार, जेठ ४, २०८१

मिर्गौला रोगबाट पीडितले उपचार खर्च पालिकाबाटै पाउने

नेपालखोज २०७८ चैत २३ गते १५:०६

काठमाडाै‌ । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् । सरकारले गत चैत १३ गते मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले सरकारले स्वीकृत गरेको कार्यविधि अनुसार सो रोगका व्यक्तिहरुको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत् नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको जानकारी दिए । सम्बन्धित पालिकाले सेवाग्राहीको खाता नम्बरमा हरेक तिन/तिन महिनामा मासिक पाँच हजारको दरले रकम जम्मा गरिदिने उनले बताए ।

उपचार खर्च बापतको सो रकम पहिले नै पेन्सन पाइराखेकाहरुले नपाउने तर जेष्ठ नागरिक तथा एकल महिलाले भने भत्ता पाइरहेको भएपनि उपचार बापतको सो रकम पाउने उनले स्पष्ट पारे । उनले भने, ‘नेपाल सरकार मन्त्रीस्तरको निर्णयबाट चैत्र १३ गते मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु, डायलाइसिस गराइराख्नु परेका व्यक्तिहरु, क्यान्सर समस्या भएका व्यक्तिहरु र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई मासिक रुपमा पाँच हजार रुपैयाँ उपचार खर्च वापत सरकारले उपलब्ध गराउने भनेर त्यसको कार्यविधि स्वीकृत भएको हो ।’

उनले स्वास्थ्य बीमाको सेवाग्राहीको रुपमा सुचिकृत भएकाहरुले पनि सो रकम पाउने बताए । सरकारले स्रोतको सुनिश्चितता गरिसकेकाले सेवाग्राहीले रकम निरन्तर पाउने पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया