शनिबार, वैशाख २२, २०८१

जिल्ला अदालत नवलपुरले दियो अभिनेता पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

नेपालखोज २०७८ चैत २३ गते २२:०६

काठमाडौं । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत नवलपुरले आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका प्रवक्ता लालबहादुर क्षेत्रीले जानकारी दिए ।

शाहलाई नवलपुर अदालतबाट तनहुँ कारागार नै लैजाने आदेश भएको छ । आगामी वैशाख ७ गते वकपत्रका लागि आरोपित शाह, पीडित पक्षसहित साक्षीहरूलाई बोलाइएको क्षेत्रीले जनाकारी दिए । नवलपुर अदालतमा शाह विरुद्धको थुनछेक बहस आज साँझ सकिएको हो ।

पीडित पक्षबाट अदालतमा तीनजना सरकारी र दुई जना अन्य गरी पाँच वकिलले बहस गर्दा शाहको तर्फबाट नौ जनाले बहस गरेका थिए । जिल्ला प्रहरी कार्यलय तनहुँमा हिरासतमा रहेका शाहलाई हिजो मंगलबार जिल्ला अदालत नवलपुर लगेर बयान लिइएको थियो ।

पीडित नाबालिकाले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी थिइन् । पीडितको जाहेरीका आधारमा शाह विरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते सरकारी वकिलमार्फत मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया