शुक्रबार, जेठ ४, २०८१

टाइफाइडविरुद्धको खोप अभियान आजबाट सुरु, कामपामा मात्रै ६०० खोप केन्द्र

नेपालखोज २०७८ चैत २५ गते ६:४३
May be a cartoon of one or more people and text

काठमाडौं । टाइफाइडविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ । अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाइने छ ।

आजदेखि वैशाख १८ गतेसम्म राष्ट्रव्यापी रूपमा यो  खोप अभियान सञ्चालन हुनेछ । ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो । यो खोप विद्यालयमै दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । उनले हिजो विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको शुभारम्भ गरेका हुन् ।

यसैबीच, टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाडौँ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ । कामपा शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार अभियान सहज होस् भन्नका लागि सामुदायिक र निजी गरी ६०० विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

अहिले चालु शैक्षिकसत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न पनि भनिएको अधिकारी सुवेदीले बताए । कम्तीमा २०० विद्यार्थी भएको प्रत्येक विद्यालयमा केन्द्र सञ्चालन गरिने बताइएको छ ।

खोप कार्यक्रम सञ्चालन गर्नका लागि शहरी स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी खटिनेछन् । यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने बताइएको छ । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ ।

हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ ।

नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ ।

यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने भएको छ ।

May be a cartoon of text

प्रतिक्रिया