बिहीबार, जेठ ३, २०८१

प्रहरी महानिरीक्षक थापा क्षेत्री मौलो पूजामा सरिक

नेपालखोज २०७८ चैत २६ गते १२:१०

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजा गरेका छन् ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बलीपूजा तथा निसानमा पञ्जा छाप समेत लगाएका थिए । उनले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराउँदै पुजारीले टीका तथा प्रसाद प्रदान गरेका थिए ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । यसमा दुईवटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिह्न अंकित भएको हुन्छ । सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्नेजस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्टदेवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ ।

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरेपछि हरेकवर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।

प्रतिक्रिया