बुधबार, जेठ २, २०८१

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

नेपालखोज २०७८ चैत २६ गते १९:५०

काठमाडौं । वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको छ । रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याउने चलन छ । यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडी बनाइएको रथमा रथारोहण गराइन्छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा सुरु गरिन्छ । काठमाडौंको पुरानो बस्ति भएको शहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । आज पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पुर्‍याइन्छ ।

अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ । रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीन पटक परिक्रमा गराई जात्राको समापन गरिन्छ ।

मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगे पछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन छ ।

प्रतिक्रिया