शुक्रबार, वैशाख २१, २०८१

टी-ट्‌वान्टी वर्ल्डकप-२०२४ वेस्टइन्डिज र अमेरिकामा, नेपालका लागि अवसर

नेपालखोज २०७८ चैत २९ गते १०:३८

काठमाडौं । टी-ट्‌वान्टी वर्ल्डकप-२०२४ को आयोजना वेस्टइन्डिज तथा अमेरिकाले संयुक्त रूपमा गर्ने भएका छन् । आयोजकका नाताले यी दुवै देश यो प्रतियोगिताका लागि क्वालिफाइड पनि भएका छन् । दुबईमा बसेको आईसीसीको बैठकले यो निर्णय गरेको हो ।

आईसीसी टी-ट्‌वान्टी वर्ल्डकप २०२४ मा पहिलोपटक वेस्टइन्डिज तथा अमेरिकासहित २० वटा देश सहभागी हुनेछन् । अमेरिकाले पहलोपटक टी-ट्‌वान्टी वर्ल्डकप खेल्नेछ ।

ईएसपीएनक्रिकइन्फोका अनुसार, वेस्टइन्डिज र अमेरिकामा हुने टी-ट्‌वान्टी वर्ल्डकप २०२४ का सहभागी देशमध्ये १२ देशले फाइनल चरणमा सीधा प्रवेश पाउनेछन् । त्यसमा अस्ट्रेलियामा यही वर्ष (२०२२) हुने टी २० वर्ल्डकपका टप आठ देशका अतिरिक्त वेस्टइन्डिज र अमेरिका हुनेछन् । बाँकी दुई टिमको फैसला यो वर्षको १४ नोभेम्बरसम्मको टप र्याकिङका आधारमा हुने बताइएको छ ।

वेस्टइन्डिजले यदि अस्ट्रेलियामा यही वर्ष हुने टी-ट्‌वान्टी वर्ल्ड कपको उत्कृष्ट आठमा स्थान बनायो भने र्याकिङको उत्कृष्ट दुईको ठाउँमा उत्कृष्ट तीन देशले वर्ल्डकप खेल्ने अवसर प्राप्त गर्नेछन् ।

टी-ट्‌वान्टी वर्ल्डकप २०२४ खेल्ने बाँकी आठ देशको निर्णय क्षेत्रीय क्वालिफाइडका आधारमा गरिनेछ । यसमा एसिया, अफ्रिका तथा युरोपका उत्कृष्ट दुई-दुईवटा देशले टी-ट्‌वान्टी वर्ल्डकप २०२४ वर्ल्डकप खेल्न पाउनेछन् भने अमेरिका तथा इस्ट एसिया प्यासिफिकबाट एक-एकवटा देशले मौका पाउनेछन् ।

यो प्रतियोगिता नेपालका लागि समेत एउटा अवसर हुनसक्छ जसका लागि समयमै तयारी प्रारम्भ गर्नुपर्नेछ ।

प्रतिक्रिया