शुक्रबार, वैशाख २१, २०८१

राष्ट्रिय सभाका सदस्य दाहालले लिए शपथ

नेपालखोज २०७८ चैत २९ गते १२:५३

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन् । शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिए । शपथ ग्रहण कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम लगायतको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन् । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया