शुक्रबार, वैशाख २१, २०८१

माओवादीको सर्कुलर- केन्द्रको स्वीकृति नलिई एक्लै चुनाव लड्न नपाउने

नेपालखोज २०७८ चैत २९ गते १३:३३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गरेका छन् । केन्द्रीय कार्यालयका तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सोमबार सर्कुलर पठाएको हो ।

सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ । यस्तै स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ । बरु गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्न मातहतका कमिटीलाई भनिएको ती नेताले बताए । केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुसी निर्णय लिन रोक लगाइएको ती नेताको भनाइ छ । सर्कुलरमा भनिएको छ, ‘गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्नेछ ।’

माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्कुलर अनुसार प्रदेश समितिहरुले सर्वसम्मत भए एकरएक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने भनिएको छ। सर्कुलरमा भनिएको छ, ‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम पार्टीका प्रदेश समितिहरुले सर्वसम्मत भए एकरएक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्ने ।’

यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिहरुले गर्नुपर्ने छ भने त्यस्तो सिफारिस सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने छ । त्यसपछि निर्णयलाई केन्द्रीय कार्यालयबाट अनुमोदन गराउनुपर्नेछ । यस्तै वडा अध्यक्ष र सदस्यहरुको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्ने छ ।

चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड दिन पनि माओवादीले निर्देशन दिएको छ । सर्कुलरमा भनिएको छ ‘केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने छ ।’ यसैगरी माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको छ। पार्टीहरुले महिलालाई उपमेयरमा सीमित गरेको टिकाटिप्पणी हुँदै आएको बेला माओवादीले हरेक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमा भनेको छ ।

यस्तै कम्तिमा एउटा वडा अध्यक्षमा महिलाको उम्मेदवारी दिन विशेष जोड गर्ने पनि माओवादीले निर्णय गरेको छ । सर्कुलरमा भनिएको छ, ‘स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयको सम्भावना भएका पालिका मध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने ।

यसअघि माओवादीले पार्टीका हरेक निकायमा पनि ३५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको थियो । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबाहेकका दलसँग चुनावी तालमेल नगर्न मातहत कमिटीहरूलाई पनि सर्कुलर जारी गरिएको छ । अध्यक्ष प्रचण्डले सोमबार पठाएको सर्कुलरमा सत्ता गठबन्धनमा तालमेल हुन नसकेको पालिकामा मित्रवत प्रतिस्पर्धा हुने गठबन्धनबाहिर तालमेल नगर्ने भनिएको छ ।

तालमेल नगरी एक्लै चुनाव लड्नु परेमा केन्द्रको स्वीकृति अनिवार्य चाहिनेछ । माओवादीले केन्द्रको स्वीकृति नलिई एक्लै चुनाव लड्न नपाउने आदेश दिएको छ ।

प्रतिक्रिया