मंगलबार, वैशाख २५, २०८१

मधेस प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

रासस २०७८ चैत ३० गते ८:०३

धनुषा । मधेस प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले गएराति १२ बजेदेखि प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् । हिजाे बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र सदनमा पढेर सुनाएका थिए ।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका प्रदेशसभा सचिवालयले जनाएको छ । गत मङ्सिर २९ गतेदेखि सुरु भएको प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत प्रदेशसभाको २० वटा बैठक बसेको छ ।

१२० दिन चलेको आठौँ अधिवेशनले प्रदेशको नाम ‘मधेस’ र राजधानी जनकपुरधाम टुङ्गो लगाएको छ । यस्तै प्रदेश सरकारले पेश गरेको चार वटा विधेयक पारित गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । सो अवधिमा प्रदेश प्रमुख मिश्रले एउटा विधेयक प्रमाणीकरण गरेका छन् ।

यसैबीच आज बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक तथा प्राविधिक विश्वविद्यालय अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया