सोमबार, जेठ ७, २०८१

बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि २४ हजार बढीको विवरण संकलन

नेपालखोज २०७९ वैशाख १ गते १४:०७

काठमाडौं । बैतडीमा हालसम्म २४ हजार बढीकोे राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो सातादेखि सुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य हाल वडास्तरबाटै भइरहेको छ ।

हाल अभियानकै रुपमा वडास्तरमा परिचयपत्र विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । चैत ७ गतेदेखि वडास्तरमा सञ्चालन भएको विवरण संकलनको कार्यमा नागरिकको उत्साहजनक सहभागिता रहेको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाका वडामा विवरण संकलनको कार्य सम्पन्न भएको छ । डिलाशैनीमा आठ हजार ३९६ जना र सिगासमा सात हजार २०६ जनाको विवरण संकलन गरिएको सूचना अधिकारी भारतीले जानकारी दिएका छन् । उनले भने, ‘परिचयपत्र बनाउन विवरण दिने नागरिकको उत्साहजनक सहभागिता रहेको छ, सिगासमा ९५ प्रतिशत र डिलाशैनीमा ८८ प्रतिशत नागरिक सहभागि भएका छन् ।’

हाल दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकामा उक्त अभियान सुरु भएको छ । दोगडाकेदारमा २३४ जना र पुर्चौडीमा ७३५ जनाको विवरण संकलन भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट सात हजार ८५९ जनाको विवरण संकलन भइसकेको सूचना अधिकारी भारतीको भनाइ रहेको छ ।

विवरण संकलनका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण संकलनको काम हुने छ । जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको हो ।

राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुवा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ । यसैगरी बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ ।

विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहिता महिलाका हकमा श्रीमानको पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ । राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया