मंगलबार, वैशाख २५, २०८१

सलमानको सुरक्षा चुस्त दुरुस्त बनाउन सोहेलको आग्रह

नेपालखोज २०७९ वैशाख १ गते १८:११

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानका भाई सोहेल खानले काठमाडौंको दशरथ रंगशालामा हुन लागेको ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आग्रह गरेका छन् । आज आयोजक ओडीसी इन्टरटेनमेन्टले आयोजना गरेको पत्रकार सम्मेलनमा अभिनेतासमेत रहेका सोहेल खानले कार्यक्रमका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आग्रह गरेका हुन् ।

खानले नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि उक्त कार्यक्रमले सहयोग पुर्‍याओस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । कार्यक्रममा उपस्थित हुने बालबालिका र महिलाहरुको सुविधाका लागि स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

आयोजक ओडीसीका अनुसार आगामी जेठ १४ गते आयोजना हुन लागेको उक्त कार्यक्रममा २५ देखि ३५ हजार दर्शकहरु उपस्थित हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रमका लागि ओडीसी इन्टरटेनमेन्टले सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग सहकार्य गरेको हो ।

ओडीसी इन्टरटेनमेन्टका अनुसार सलमान खानको ‘द ब्याङ टुर रिलोडेड’का लागि तीन प्रकारको टिकट दर (५ हजार, १० हजार र २५ हजार रुपैयाँ)को ब्यवस्था गरिएको छ । उक्त कार्यक्रममा सुपरस्टार सलमान खानसँगै अभिनेत्री ज्याकलीन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पाँल, गुरु रान्धावा र आयुष शर्माको पनि सहभागिता रहनेछ ।

प्रतिक्रिया