बिहीबार, जेठ ३, २०८१

एफएओले भन्यो- खाद्यान्नको भाउ हालसम्मकै उच्च

नेपालखोज २०७९ वैशाख ३ गते १३:१३

काठमाडौं । संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) ले आफ्नो ताजा रिपोर्टमा फेब्रुअरीको तुलनामा मार्च महिनामा विश्वक‍ो खाद्यान्न मूल्य लगभग १३ प्रतिशतले बढेको जनाएको छ । यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि बताइएको छ ।

एफएओले एक प्रेस विज्ञप्तिमा भनेको छ, ‘खाद्य वस्तुको अन्तर्राष्ट्रिय मूल्य मार्चमा आफ्नो उच्चतम् स्तरमा पुगेको छ ।’ युक्रेनमाथि रूसी आक्रमणका कारण यसमा वृद्धि हुने सम्भावना पहिलेदेखि नै थियो ।

एफएओले आफ्नो ताजा खाद्य मूल्य सूचकांक रिपोर्टमा भनेको छ, ‘कालो सागर क्षेत्रमा युद्धका कारण अन्न तथा वनस्पति तेलको बजारलाई ठूलो झट्का लागेको छ ।’

रिपोर्टअनुसार मार्चमा औसत सूचकांक १५९.३ अंक थियो । जुन फेब्रुअरीको स्तरको तुलनामा १२.६ प्रतिशत बढी हो । फेब्रुअरी १९९० देखि विश्वको खाद्य वस्तुको मूल्यमाथि निगरानी गरिरहेको एफएओले त्यतिबेलादेखि अहिलेसम्मको स्थिति हेर्दा यो सबैभन्दा उच्चतम् स्तर भएको बताएको छ । यदि ताजा मूल्यको तुलना मार्च २०२१ सँग गर्ने हो भने यो अभूतपूर्व ३३.६ प्रतिशतले बढी हो ।

एफएओका अनुसार अन्नको मूल्य सूचकांक फेब्रुअरीको तुलनामा मार्चमा १७.१ प्रतिशत बढी थियो । यसको कारण युक्रेनमाथिको रुसी हमला नै हो । यो युद्धको परिणामस्वरूप गहुँसहित सबै मोटो अन्नको मूल्य ठूलो मात्रामा बढेको छ ।

उल्लेखनीय के छ भने रूस र युक्रेनले विश्वमा गहुँ र मकैको निर्यातमा क्रमश: ३० प्रतिशत तथा २० प्रतिशत योगदान दिँदै आएका छन् । एफएओका अनुसार अहिले मकैको मूल्यसमेत बढिरहेको छ । यसमा फेब्रुअरीयता १९.१ प्रतिशत मूल्यवृद्धि भइसकेको छ ।

एफएओ भन्छ, ‘युक्रेनका बन्दरगाहहरु बन्द भएकाले निर्यात सीमित भएको छ भने, रूसको निर्यातमा पनि बाधाहरु खडा भएका छन् ।’ यो स्थिति अझै जारी रहने अनुमान लगाउँदै एफएओले भनेको छ आउने दिनहरुमा मूल्य अझ बढ्न सक्छ ।

एफएओ भन्छ, ब्ल्याक सी क्षेत्रमा सिपमेन्टको आवागमनमा आएको कमीका कारण निर्यात बिथोलिएको छ । यही कारणले आयात कम भई मूल्यवृद्धि भएको हो । खासगरी यस्तो मूल्यवृद्धि ती देशमा बढी भएको छ जहाँ अन्नको स्टक कम थियो ।

युद्धका कारण उत्पन्न व्यवधानले सूर्यमुखीको तेलको मूल्य पनि बढाइदिएको छ । एफएओ भन्छ, ‘वनस्पति तेलको मूल्य सूचकांक २३.२ प्रतिशतले बढेको छ । यसमा सूर्यमुखीको तेलको मात्रा बढी छ, किनभने युक्रेनले पूरा संसारभर सूर्यमुखीको तेल निर्यात गर्छ ।

एफएओका महानिर्देशक क्यु डोंग्युले मार्चमै के भनेका थिए भने खाद्य वस्तुका दुई प्रमुख निर्यातकबीच युद्ध हुँदा अन्तर्राष्ट्रिय स्तरमै खाद्य असुरक्षा बढ्न सक्छ ।

प्रतिक्रिया