शुक्रबार, वैशाख १४, २०८१

पश्चिम तराईमा तातो हावा चल्ने, सतर्कता अपनाउन आग्रह

नेपालखोज २०७९ वैशाख ४ गते १६:०९

काठमाडौं । नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । भारतको मौसम विभाग र बैंक स्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको छ ।

४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ । यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने बताए ।

उनका अनुसार ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ । उनले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताएका छन् । जलवायु विज्ञ डा. उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्र्नेे प्रचुर सम्भावना रहेको बताउँदै उनका अनुसार नेपालमा शनिवारसम्मको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेशनको संख्या २७ पुगेको छ ।

जलवायुविज्ञ डा. उप्रेतीले नेपालमा समय भन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताए । उनले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताएका छन् । उनले वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको बताए ।

जलवायुविज्ञ डा. उप्रेतीले अहिले औषत पृथ्वीको तापक्रम १.१ डिग्री रहेको र भारतले जारी गरेको १२२ वर्षको आँकडामा १.८६ डिग्री सेल्सियसले तापक्रम औषतमा बढेको देखिएको बताए । उनले यो असर जलवायु परिवर्तनको कारण भएको र अहिले चुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सिमित गरेर जान सुधाव दिए ।

उनले दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्याधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिला लगायतका मानिसमा बढी असर गर्ने बताएका छन् । अत्याधिक गर्मीका कारण मान्छे बेहोस हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको हुँदा पानी बढी मात्रामा पिउन आवश्यक रहेको बताए।

ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा काम गर्न समेत सुझाव दिए । त्यस्तै धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उनले नेपालमा तापक्रमको सीमा तोकेर सोही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिदै यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलीलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, पातलो लुगा लगाउन सुझाव दिएको छ ।

प्रतिक्रिया