बिहीबार, जेठ ३, २०८१

पल प्रकरणमा नयाँ मोड- बलात्कार नगरेको समीक्षाको बयान

नेपालखोज २०७९ वैशाख ४ गते १७:५९

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनामा नयाँ मोड आएको छ। पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएपछि घटनाले नयाँ मोड लिएको हो ।

अभिनेता शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरिन् । जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ ।

नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । उनको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ । यसबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएका छन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनेर उनले बयान दिएकी छन् । उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ ।

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको बताएसँगै अब मुद्दा कसरी अगाडि बढ्छ चासो र चिन्ताको विषय बनेको छ । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए । तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो । दुवै घटनाको पीडित उही नाबालिग थिइन्।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालत (तनुहँ र नवलपुर)मा मुद्दा दायर भएको छ। दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए । हाल उनी तनहुँ कारागारमा छन् ।

समीक्षालाई प्रलोभनमा पारेर बयान फेर्न लगाइएको चर्चा सामाजिक सन्जालमा चल्न थालेको छ । पलको पक्षपोषण गरेकाले समीक्षा खराब भएको सामाजिक सनजालका प्रयोगकर्ताहरुले बताएका छन् । सामाजिक सन्जालमा पक्ष र विपक्षमा आलोचना र समर्थन भइरहेको छ । पलले पनि न्याया पाउनुपर्ने र समीक्षाले पनि न्याया पाउनुपर्ने कतिपयले बताएका छन् । धेरै जनाले समीक्षाले फसाउन गरेको प्रपन्च र नाटक रहेको समेत आरोप लगाएका छन् । पल निर्दोष रहेको आवाज पनि व्यापकरुपमा उठ्दै आएको थियो ।

प्रतिक्रिया