बिहीबार, जेठ ३, २०८१

‘प्रतिवादी जोगाउने हतियार बनिन् पीडित…’

नेपालखोज २०७९ वैशाख ५ गते १३:१६

काठमाडौं । पीडित भनिएकी नाबालिगले बयान फेरेपछि कलाकार पल शाह प्रकरणले नयाँ मोड लिएको छ । अदालतको बकपत्रमा बयान दिनेक्रममा बालिकाले एक्कासि बयान फेरेपछि नेपाली कलाकारजगत् र आमसर्वसाधारणबीच अब के होला, कसो होला भन्ने चर्चाको विषय बनेको छ । सामाजिक सन्जालमा स्टाटस, कमेन्ट र समाचारले पुनः एकपटक यो प्रकरणले चर्चा पाएको छ । सामाजिक सन्जालमा पक्ष–विपक्षमा विभिन्न टिप्पणी भइरहेका छन् ।

अदालतमा आफू पीडित भएको विभिन्न तथ्यगत प्रमाणसहित मुद्दा दर्ता गरेकी नाबालिकाले अहिले एक्कासि बयान फेरिन् भन्ने विषय सर्वत्र चासो बनेको छ । यसैक्रममा नाबालिगले अदालतमा बयान फेरेको खबर सार्वजनिक हुनेबित्तिकै नाबालिगकै तर्फबाट अदालतमा बहस गरेकी अधिवक्ता तथा लेखक सरिता तिवारीले सामाजिक सन्जालमा स्टाटस लेखिन् । उनले स्टाटसमा ‘पल शाह प्रकरणको यो मोड शक्ति, पैसा र प्रभावको अर्को विडम्बनायुक्त उदाहरण भएको’ जनाएकी छन् । करणीलगायत यौन दुर्व्यवहारका मुद्दामा राज्यबाट पीडितको सुरक्षा संवेदनशीलताबारे स्पष्ट नीति र अभ्यास नहुँदा पीडित स्वयं प्रतिवादी जोगाउने हतियार बन्न पुग्ने तिवारीले प्रस्ट्याएकी छन् ।
यो समाचार तयार पार्दासम्म उनको स्टाटसमा करिब दुई सयले रियक्ट, ४४ जनाले कमेन्ट र १० जनाले सेयर गरेका छन् । उनको स्टाटसमा जुनु दिव्य रानाले ‘अब पीडितको पक्षमा वकालत गर्नु हुने वकिलहरू र नेपालीबीच नै ध्रुवीकरण ल्याउने यो मुद्दा अब कुन मोडतिर जान्छ ? यसरी महिला हकअधिकार सुरक्षा संयन्त्रहरू अझै कमजोर हुनेछन् । हिंसा अझ बढ्नेछन् । भोलि अरू नाबालिगमाथि यस्तै प्रकारको हिंसा बढ्नेछ ।’ भनेर कमेन्ट गरेकी छन् ।

जुनुको कमेन्टमा अधिवक्ता सरिताले ‘हामीसँग पीडितको न्यायको संवेदना र लड्ने जुनुनबाहेक अरू केही छैन । हामीले लगातार बयान नफेर्न सुझायौं । पैसा र शक्तिले न्याय किन्न सकिने भएपछि न्यायाधीशले पनि केही गर्न सक्दैन जुनुजी ।’ भनेर जवाफ दिएकी छन् ।

अनिशा बरालले भने कसरी यस्तो भयो ? यति धेरैको साथ र समर्थन हुँदा–हुँदै ? वास्तविकता के हो ? लगायतका प्रश्न गरेकी छन् । यस्तै कृष्ण देवकोटा लेख्छन्, मैले उसकी दिदीलाई फोन गरेकी थिएँ, मुद्दा फिर्ता गर्न लगाउँदै छन् अरे’ लेखेका छन् ।

यस्तै दीक्षा पाण्डेले उफउफ भन्नुबाहेक अर्को विकल्प रहेन भनेकी छन् । मुना कार्कीले ‘कस्तो दुःख लाग्दो कुरा के, जे होला भन्ने चिन्ता थियोे र नहोस् भन्ने थियोे त्यही भए जस्तो छ ।’ कमेन्ट गरेकी छन् । यसैगरी उपेन्द्रपुरुष तिम्सिनाले ‘गलत तत्त्वहरू नै हाबी हुन पुगे, त्यसलाई प्रश्रय दिने झन् बढी देखिए । लाज नभएपछि के गर्ने ? सामाजिक संवेदनता र मनुष्यत्व नै हरायो ।’ भन्ने टिप्पणी गरेका छन् ।

वास्तवमा सरिताले पीडितको पक्षमा स्टाटस लेखेपछि अधिकांशले उनलाई समर्थन गर्दै लेखेका छन् । अमृता आमीले जे कुराको डर थियो त्यही भयो भनेकी छन् भने हरिराम रेग्मी, शेखर विकल्पले बयान फेरिने कस्तो विडम्बना भनेका छन् ।

महेन्द्र सिंहले ‘हो त नि, कहिल्यै पर्दामा भन्या छ, कहिल्यै शरीरमा भन्या छ । अन्तर्वार्तामा मैले माया गरेको मान्छे भन्या छ, यस्ता नौरंगीको वकालत गरेर साराका सारा पुरुषलाई हेय गरेको छ । सबै पुरुषलाई एउटै डालोमा हाल्ने, अनि सबै महिलालाई एउटै अँखाले हेर्न थालियो भने के हुन्छ ? समाज भँडुवा’ भन्ने कमेन्ट गरेका छन् ।

भक्ति रिजालको, ‘एउटा बालिकालाई गायिका, सेलिब्रिटी बनाइयो, बलात्कृत बनाइयो, पीडित बनाइयो, अधिकार लडाइँको आधार पनि बनाइयो, अब पीडक बनाइयो ११ ऊ अझै अपरिपक्व छ १११ साथ सबैको आवश्यक छ ।’ भन्ने टिप्पणी छ ।

यस्तै महेशकुमार खाती लेख्छन्, ‘योभन्दा दुःखद अरू हुनै सक्दैन । दी अब अलि जोडका साथ लाग्नुपर्यो । नाबालिग पीडितलाई गतिलो मनोपरामर्शको आवश्यकता छ । पीडित परिवारलाई राज्यले साथ र संरक्षण गर्नुपर्यो ।’

फेरि चन्द्रशेखर खड्का लेख्छन्, पीडितले जेजस्तो अवस्था आइपरेर बयान फेरे पनि प्रतिवादी स्वयंले नाबालकसँग यौनसम्बन्ध राखेको स्वीकार गरिसकेको अवस्थामा पीडकले उन्मुक्ति नपाउनुपर्ने हो ।’

अर्को कमेन्टमा ‘नाबालिक को हकमा न्यायाधीशले, संयन्त्रबाट जुटेका प्रमाणलाई लिएर वकालत गर्नुपर्ने हो खासमा, नत्र, नाबालिकाले निर्णय गर्न सक्दैनन् र संरक्षण गर्नुपर्छ भन्ने, कुरा को अर्थ नै रहेन होला, मलाई लागेको कुरा’ शिवले लेखेका छन् ।

उता पीडित भनिएकी बालिकाले तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र गर्दा आफूले दबाबमा आएर उजुरी दिएको प्रस्ट पारेकी छन् । उनले प्रहरी आफैंले बयान लेखेको भन्दै बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवै अदालतले प्रारम्भिक सुनुवाइ गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा राखिएको अवस्था छ ।

शाहले जिल्ला अदालतले गरेको फैसालाविरुद्ध उच्च अदालतमा पुनरावेदनका लागि गएको अवस्था पनि छ । शाहले अहिले उच्च अदालत पोखराबाट आफूले दिएको निवेदनमाथिको सुनुवाइ पर्खिरहेको अवस्था पनि छ । बयानका क्रममा नाबालिगले अरूको उक्साहटमा लागेर उजुरी दिएको प्रस्ट पारेकी छन् । यसैगरी प्रहरीलाई बयान दिँदा आफ्नो मानसिक अवस्था पनि ठीक नभएको र के भनेर बयान दिएको भन्ने पनि प्रस्ट नभएको उनले अदालतमा बयानका क्रममा बताइन् ।

नाबालिगले अहिले आएर बयान फेर्दा उनी पीडकका केही मान्छे पूरा दबाबमा भएको पनि आकलन गरिएको छ । अहिले उनले दिएको बयान रेडिमेड भएको भनेर टिप्पणी गर्नेहरू पनि छन् । नाबालिगले पहिले दिएको उजुरी तथा बयानका आधारमा उनी साँच्चै पीडित भएको आभास जो–कोहीलाई भएको थियो । सुरुवातका दिनमा पक्ष र विपक्षमा विभिन्न टिप्पणी पनि आएका थिए ।

उजुरीपछि नवलपुर जिल्ला प्रहरी कार्यालय र तनहुँ जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा नाबालिगले आफू बलात्कृत भएको दाबी गरकी थिइन् । पलले पनि आफू बियर खाएर बालिकाको कोठामा प्रवेश गरेको र प्रेमी–प्रेमीकाबीच सम्बन्ध हुनु सामान्य भएको भन्दै प्रहरीसमक्ष दिएको बयानको अडियो टेपलाई आधार बनाएर अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो ।

यस्तो अवस्थामा अदालतमा मुद्दा चलिरहेका बेला नाबालिगले बयान फेरेसँगै मुद्दाले कस्तो रूप लिन्छ त्यो भने न्यायाधीहरूको फैसालाले बताउला । तर नाबालिग होस्टाइल भएको न्यायाधीशलाई लागे पल शाहलाई सजायको व्यवस्था हुनसक्छ ।

अनुसन्धान अधिकारीसँग नाबालिग र पल शाहले दिएको बयान, नाबालिगको स्वास्थ्य परीक्षण रिपोर्ट र अडियो टेपलाई आधार बनाएर अदालतले मुद्दाको फैसाला गर्नसक्नेछ । केही दिन पहिले पल शाहकी बहिनीले नाबालिग गायिका र उनको परिवारलाई भेटेपछि मन फेरिएको हुनसक्ने एक कानुन व्ययसायीले सञ्चारकर्मीलाई बताएको खबर पनि सार्वजनिक भएको छ । अहिले नाबालिग गायिकाले बयान फेर्दा आफू अचम्ममा परेको ती कानुन व्यवसायीले बताएको खबर पनि सार्वजनिक भएको छ ।

अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ । अबको अदालती प्रक्रिया बालिकाका बाबु र आमाको बकपत्रले निर्धारण गर्ने जनाइएको छ ।

प्रतिक्रिया