शुक्रबार, जेठ ४, २०८१

नेपालको पूर्वाधार विकासमा भारतीय लगानी र प्रविधि आवश्यक : मन्त्री झाँक्री

नेपालखोज २०७९ वैशाख ८ गते १७:२८

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको पूर्वाधार विकासमा भारतको ठूलो सहयोग आवश्यक रहेको बताएकी छन् । पूर्वाधार विकासमा नेपाल अहिले पनि पछाडि रहेकाले पछिल्ला वर्षहरुमा भारतले आधुनिक प्रविधि सहितको सडक, टनेल, पूल, सहरी एवं यातायात पूर्वाधारमा गरेको प्रगति हाम्रा लागि पनि अनुकरणीय हुनेमा उनको जोड थियो ।

निर्माण उपकरण उद्योगको दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम एक्सकोनको पूर्वावलोकन कार्यक्रमलाई बुुधवार काठमाडौंमा सम्वोधन गर्दे मन्त्री झाँक्रीले एक्सकोनमा नेपालको सहभागिता महत्वपूर्ण हुने बताइन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा भारतीय उद्योग परिसंघले सो कार्यक्रमको आयोजना गरेको हो । प्रदर्शनीको माध्यममार्फत नेपालको पूर्वाधार विकासमा प्रविधि, लगानी आकर्षणका लागि सहयोग गर्न पनि मन्त्रीले आग्रह गरिन् ।

भारतले आफ्नो विकासका साथै नेपालको विकास पनि सहयोग गर्नुपर्नेमा उनको सुुझाव थियो । एक्सकोन, भारतीय उद्योग परिसंघद्वारा आयोजित दक्षिण एसियाको सबैभन्दा ठूलो निर्माण उपकरण र निर्माण प्रविधि व्यापार मेला हो र यसको ११ औं संस्करण भारतको बैंगलोर अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, बैंगलोरमा आगामी जेठ ३ देखि ७ गतेसम्म आयोजना हुँदैछ । सोही प्रदर्शनीबारे जानकारीसहित नेपाललाई उक्त प्रदर्शनीको निम्तो दिन सो कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया