बिहीबार, जेठ ३, २०८१

नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया खेती

नेपालखोज २०७९ वैशाख १४ गते १७:१८

काठमाडौं । नेपालमा १६ हजार ९१७ हेक्टर जमिनमा चिया खेती गरिएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६औं राष्ट्रिय चिया दिवसको अवसर पारेर आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

त्यस अवसरमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दाबी समेत गरे । उनले भने, ‘आव २०७६/०७७ मा २ अर्व ७८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा आव २०७७/०७८ मा ३ अर्व ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात गर्न सफल भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । करिव एक वर्षको अवधिमा दोब्बर विदेशी मुद्रा चिया निर्यातबाट भित्र्याएको तथ्यांकमा देखियो । यसले के देखाउँछ भने सरकारले लगानी बढाउने हो भने अवको ३ वर्ष भित्र चिया निर्यातबाट मात्रै करिब वार्षिक १२ अर्व विदेशी मुद्रा भित्र्याउन सकिन्छ ।’

बोर्डले यस वर्षको चिया दिवसको नारा ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार । चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने तय गरेको छ । कार्यकारी निर्देशक भट्टराईले चियामा लगानी बढाउन सकिए त्यसलाई मुलुकको आर्थिक समृद्धिको आधार बनाउन सकिने पनि स्पष्ट पारे।

बोर्डले हरेक वर्षको बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । नेपालमा १६ हजार भन्दा बढि चिया कृषक र ६० हजार भन्दाबढि यसका श्रमिकहरु संलग्न रहेको बोर्डको भनाई छ ।

प्रतिक्रिया