बिहीबार, वैशाख २०, २०८१

श्रेष्ठको प्रतिवद्धता पत्र : काठमाडौलाई फोहोरमुक्त बताउनेदेखि भ्रष्टाचारमुक्त बनाउनेसम्मका आश्वासन

नेपालखोज २०७९ वैशाख १६ गते १७:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भएमा महानगरभित्रका आम नागरिकको चाहनाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरका छन् ।

वरिष्ठ कलाकार समेत रहेका श्रेष्ठले काठमाडौं महानगरपालिकाबासीको मनोभावना र चाहनाअनुसार काम गर्न आफूले राप्रपाबाट मेयरको उम्मेदवारी दिएको पनि बताए । आज चुनावका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनले विगतका जनप्रतिनिधिहरुले इमान्दार भएर काम गर्न नसकेकाले काठमाडौं महानगरपालिका फोहोरको डुंगुरमा परिणत भएको आरोप लगाउँदै ती समस्या समाधान आफूले गर्ने दाबी समेत गरे ।

श्रेष्ठले घोषणा गरेको प्रतिवद्धता पत्रमा ६ महिनाभित्र काठमाडौंलाई फोहोरमुक्त सहर बनाउने महत्वकांक्षी योजना उल्लेख गरिएको छ । मेयरका उम्मेदवार श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्रमा काठमाडौलाई भ्रष्टाचामुक्त बनाउने, सार्वजनिक यातायातामा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क गर्ने, मठ, मन्दिर, पाटीपौवा, गुठीलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने उल्लेख गरिएको बताए ।

त्यसैगरी प्रत्येक वडामा निःशुल्क स्वास्थ्य चौंकीको स्थापना गरेर नागरिकको स्वस्थ जीवनका लागि काम गर्ने योजना पनि प्रतिवद्धता पत्रका समावेश गरिएको छ ।

प्रतिक्रिया