बिहीबार, वैशाख २०, २०८१

चुनावको बेला झुटा आश्वासन बाँडेर नहिँड्न उम्मेदवारहरुलाई आग्रह

नेपालखोज २०७९ वैशाख १६ गते १९:५१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरित खालको निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

महामन्त्री शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल साँस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै चुनावको प्रचार गर्न मिल्ने तर अन्य नागरिकले नमिल्ने भन्ने खालको निर्वाचन आचारसंहिता करेक्सन गरेर अघि बढनुपर्ने बताए ।

महामन्त्री शर्माले निर्वाचनमा फजुल खर्च नगर्न र स्वस्थ प्रतिस्पर्धामा भाग लिन पनि पार्टीका स्थानीय तहका उम्मेदवारहरुलाई सचेत गराए । महामन्त्री शर्माले निर्वाचनका बेला झुटा आश्वासन बाँडेर नहिँड्न पनि पार्टीका उम्मेदवारहरुलाई आग्रह गरे । झुटा सपना निर्वाचनको बेला देखाउने तर पछि त्यसलाई पूरा गर्न सकिएन भने जनतामा निराशा छाउने अवस्था आउने उनको भनाई थियो ।

प्रतिक्रिया