शुक्रबार, जेठ ४, २०८१

नेता पौडेलले भने- ओलीले राजावादी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरेका छन्

नेपालखोज २०७९ वैशाख १७ गते १२:५७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका हुन् ।

पौडेलले विकासको नाममा एमालेका कार्यकर्ताहरुले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाएका छन् । एमालेले विकासका योजनाहरु अलपत्र बनाएको पनि बताए । वरिष्ठ नेता पौडेलले नेकपा एमालेले बारम्बार संसदमाथि हमला गरेर जनताको अधिकारमाथि हमला गरेको जनाए ।

उनले नेपाली काँग्रेसले ओली प्रवृतिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेको प्रष्ट पारेका छन् । वरिष्ठ नेता पौडेलले भने, ‘जनताको अधिकारमाथि हमला भएको छ । बारम्बार सांसद बनाएर जनताले भोट दिएर पठाउने, त्यसै संसदलाई भंग गरेर देशमा राजनीतिक अस्थिरता पैदा गर्ने देशमा लोकतन्त्रमाथि कुठाराघात गर्ने ।’

नेता पौडेलले राजा महेन्द्रले २०१७ सालमा गरेजस्तै संसदमाथि बारम्बार हमला गर्ने ओली प्रवृतिसँग सामना गर्न गठबन्धन गरिएको जनाए । गठबन्धन राजनीतिक, सैद्धान्तिक, वैचारिक र राष्ट्रिय रुपले राष्ट्रको आवश्यक्ताको भएको उनको भनाइ छ ।

नेता पौडेलले भने, ‘हेर्नुहोस् कस्ता तत्वसँग ओली आज हात मिलाउन गएका छन् ? उनले सारा पुरातन पन्थी, राजावादी, प्रतिक्रियावादी, भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेछन् ।’ वरिष्ठ नेता पौडेलले गठबन्धनले गरेको अहिलेको राजनीति र विकास रणनीति सही ढंगमा अघि बढीरहेको पनि बताएका छन् ।

प्रतिक्रिया