शुक्रबार, जेठ ४, २०८१

जनताको भावना बुझ्ने वडाध्यक्षका उम्मेद्‌वार कुलबहादुर…

नेपालखोज २०७९ वैशाख १८ गते १३:४०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा कुलबहादुर देवकोटा खत्रीले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सानैदेखि राजनीति तथा समाजसेवामा रुचि राख्ने उनले नगर तथा वडाको विकासका लागि विभिन्न प्रतिबद्धता जनाएका छन् । वडाध्यक्ष निर्वाचित भएमा वडा मात्रै नभई नगरकै विकासमा होस्टेमा हैंसे गर्ने खत्रीले वडावासीसमक्ष आश्वासन दिएका छन् ।

को हुन् त ? वडाध्यक्षका उम्मेद्‌वार कुलबहादुर खत्री ?
कुलबहादुर वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का स्थायी बासिन्दा हुन् । सुर्खेत जिल्लाको निकै विकट मानिने वीरेन्द्रनगरको सल्लेरी (साबिक रतु गाविस-घ) मा जन्मिएका हुन् खत्री । पाँच दिदी-बहिनी र तीन दाजुभाइमध्येका उनी माइला छोरा हुन् ।

सानैदेखि पढाइमा उत्कृष्ट हुन्थे उनी । २०५० सालमा अमर ज्योति नमुना माध्यमिक विद्यालय नेवारेबाट एसएलसी पास गरेका थिए । उनी त्यसबेला गाउँकै पहिलो एलएलसी पास गर्ने युवा थिए । गाउँमा एसएलसी पास गर्ने पहिलो युवा भएपछि सबैबाट चर्चा र माया पाएका थिए ।

असल तथा कुशल विद्यार्थी खत्रीले पढाइलाई निरन्तरता दिन चाहे । तर प्लस टु पढ्दापढ्दै बुबाको मृत्यु भयो । परिवारमा उनको आर्थिक अवस्था कमजोर थियो । अतः पढाइ प्लस टूमै रोक्न बाध्य भए । उनले घरको अभिभावक बुबाको मृत्यु भएपछि चाहँदा चाहँदै पनि शैक्षिक यात्रा पूरा गर्न सकेनन् ।

एसएलसी पास गरेका उनले माथिल्लो कक्षामा पढ्न सकेनन् । गाउँवाासीको मायाले उनले स्थानीय विद्यालयमा पढाउने अवसर पनि पाए । पढाउँदै उनी सामजिक कार्यमा पनि होमिए । उपभोक्ता सामुदायिक वन, स्थानीय सहकारी, स्कुल व्यवस्थापन समितिलगायत विभिन्न संघ-संस्थाको कार्यभार सम्हाल्ने अवसर पनि पाए उनले ।

उनमा उच्च शिक्षा पढ्न नपाए पनि तिखो वुद्धि थियो । पढाइमा आर्थिक अवस्थाले प्रगति गर्न नपाए पनि विभिन्न सामाजिक संघ-संस्थाको नेतृत्वको मौका पनि पाए । कुशलतापूर्वक सामाजिक सेवा पनि गर्दै आएका व्यक्ति हुन् कुलबहादुर । उनले २०६२ देखि ६५ सम्म स्थानीय कालिका सामुदायिक वनको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

उनले नेतृत्व गरेको उक्त सामुदायिक वन सुर्खेतकै उत्कृष्ट सामुदायिक वनको दर्जासमेत पाउन सफल भयो । विद्यालयमा सधैं सफल हुँदै आएका कुलबहादुर सामाजिक संघ-संस्थामा बसेर पनि एक नम्बर काम गरेका छन् । उनले गरेको उत्कृष्ट कामको चर्चा वीरेन्द्रनगरमा मात्रै होइन, सुर्खेत जिल्लाभर नै छ । उनी अध्यक्ष रहेको सामुदायिक वनले आर्थिक आयआर्जन पनि राम्रो गरेको रेकर्ड छ ।

May be an image of 5 people, people sitting and people standing
वीरेन्द्रनगर वडा नम्बर ११ मा आयोजित भेलामा वडाध्यक्षका उम्मेद्‌वार कुलबहादुर खत्री ।

२०६५ सालमा छोराछोरीको उच्च शिक्षाका निम्ति सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा उनी बसाइँ सरेका हुन् । आर्थिक अवस्था कमजोर र गतिलो पेसा नभएका उनी सुर्खेतजस्तो महँगो सहरमा चार छोराछोरीलाई लिएर बसाइँ सरे । उनले कृषि पेसा गरेरै भए पनि छोराछोरीलाई राम्रो शिक्षा-दीक्षा दिएका छन् । लगनशील, इमानदारी र मिहिनेतमा विश्वास राख्ने कुलबहादुरका हाल एक छोरा सीए, एक छोरा इन्जिनियर र बुहारी वाणिज्य बैंकमा कार्यरत छिन् । बाँकी दुई सन्तान अध्यनरत छन् ।

कुनै पनि काम सानोठूलो हँुदैन भन्ने विचार राख्ने कुलबहादुर आजभोलि पनि दिनरात सामाजिक कार्यसँगै सम्पूर्ण घरायसी काम आफैं गर्छन् । सामान्य परिवारमा जन्मिएका खत्रीसँग आजभोलि कुनै पनि कुराको कमी छैन ।

उनले सुर्खेतको वीरेन्द्रनगरमा आएपछि कृषिकर्म गर्दै प्रगतिपथमा पनि लम्किँदै गए । संघर्षको प्रतिफल नै अहिलेको उनको सुधारिएको आर्थिक अवस्था हो । कुलबहादुर आफ्नो परिवारिक आर्थिक अवस्था मात्रै होइन, छरछिमेक तथा पूरै वडावासीको आर्थिक अवस्थामा सुधार आउनुपर्छ भन्ने सोच राख्ने व्यक्ति हुन् ।

कुलबहादुर आफ्नोभन्दा अरूबारे धेरै चिन्ता गर्छन् । उनी आफ्ना पाँचै दिदीबहिनीलाई उत्तिकै सहयोग गर्छन् । आफूमात्र सक्षम भएर देश सक्षम हुँदैन भन्नेमा कुलबहादुर विश्वास गर्छन् । आफूसँगै दुई दाजुभाइलाई पनि सक्षम बनाउनमा उनको निकै नै ठूलो भूमिका छ । जेठो दाइ (खुमबहादुर खत्री) सार्थक फुड उद्योगमार्फत ३०-४० जनालाई वीरेन्द्रनगर ११ मै रोजगारी दिएका छन् । उनका कान्छा भाइ (दानबहादुर खत्री) सुर्खेतकै चिनिएका व्यापारी हुन् ।

भर्खरै सम्पन्न नेपाली कांग्रेसको पार्टी अधिवेशनबाट सुर्खेत क्षेत्र नं. २ ‘क’ बाट सचिवमा निर्वाचित खत्री खानेपानी स्किम नं. ४ का अध्यक्ष, आलोपालो बचत तथा ऋण सहकारी संस्थाका सचिवसँगै वीरेन्द्रनगर नगरपालिका ११ का विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध एक चर्चितसँगै सफल राजनीतिज्ञसमेत मानिन्छन् ।

सबैलाई आफूजस्तै इमानदार देख्ने कुलबहादुर २०७४ सालको पहिलो स्थानीय चुनावमा सानो मतान्तारले आफ्नै विश्वास पात्रहरूको असहयोगका कारण पराजित भएका थिए । पराजित भए पनि उनी राम्रो राजनीतिक पहुँच बनाएका व्यक्ति हुन् । यसअघिको स्थानीय तह निर्वाचनमा पराजित भए पनि उनी विकास तथा समाजसेवा गर्नुपर्छ भन्ने भावनाबाट विचलित भएनन् ।

May be an image of 3 people, people sitting, people standing and indoor

उनी आफ्नो वडामा विकासका योजना ल्याउन सधैँजसो नगरपालिका तथा मन्त्रालयमा धाउने नेता हुन् । धेरै योजना आफ्नो वडामा पार्न पनि उनी सफल भएका छन् । कोभिड १९ का चरणमा समेत उनले गाउँघरमा हौसला दिएका थिए । महामारीका बेला उनले स्थानीय बासिन्दालाई गरेको सहयोग पनि स्मरणयोग्य छ । कुलबहादुर स्थानीय जनताको मनमनमा बस्न सफल राजनीतिज्ञ भएकाले विपक्षी पार्टीका उम्मेद्वार झस्किएका छन् । नेपाली कांग्रेसबाट उम्मेद्‌वार बनेका कुलबहादुरको प्रतिस्पर्धीका रूपमा नेकपा एमालेबाट खिमलाल (श्याम) देवकोटा छन् ।

प्रतिक्रिया