शुक्रबार, जेठ ४, २०८१

६ महिनासम्म विद्यासुन्दरले सगुनका नाममा ‘रक्सी’ खाएर समय बिताए : केशव स्थापित

नेपालखोज २०७९ वैशाख १८ गते १४:४८

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि सगुनका नाममा समय बर्बाद नपार्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जिफन्टले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्थापितले अघिल्ला मेयर विद्यासुन्दर शाक्यतर्फ लक्षित गर्दै केही मान्छेले ६ महिनासम्म सगुनमा समय बर्बाद गरेको बताए ।

उनले मेयरलाई फोन गर्दा फोन स्वीच अफ हुने गरेको समेत खुलस्त पारे । उनले भने, ‘मैले केहीकेही मान्छेलाई देख्या छु, ६ महिनासम्म कहाँ भन्या त ‘सगुन’ खान रैछ । सगुन खान भन्या छ, साँझ परेपछि चुस्स लगाएको छ, फोन गरेको स्वीच अफ भन्छ । यस्तो पनि मेयर हुन्छ ?’

स्थापितले आफू विजयी भए महानगरमालाई रुपान्तरण गरेर नयाँ महानगरपालिका बनाउने सयौं योजना रहेको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सयौ योजना भएको भन्दै ती योजना कार्यान्वयन भए लाखौंले रोजगारी पाउने र काठमाडौंको मुहार फेरिने दाबी गरे । उनले भने, ‘मसँग सयौं सय आइडियाहरु छ । यो मान्छे अनौठो कुरा गर्छ भन्छ, मेयरहरुले अनौठो नै कुरा गर्नुपर्छ ।’

उनले आफू निर्वाचित भएपछि ६ महिनासम्म सगुन खाएर र मोवाइल अफ गरेर नबस्ने भन्दै निर्वाचित भएको पर्सिपल्टबाट जनताका काममा लाग्ने र भटाभट निर्णय गर्ने बताए । आफू उपहारको धेरै सौखिन नरहेको पनि उनले सुनाए । उनले भने ‘मलाई अन्डा दियो भने अर्कोलाई दिइहाल्ने, फेरि खायो भने त मरिहाल्छ नि । अरु पनि खाने बानी लाग्छ नि, होस त पुर्‍याउनुपर्‍यो । खानेबानी ठीक हुँदैन क्याँ । उपहार लिएपछि त अरु पनि लिने बानी लाग्छ नि, उपहार नल्याउने खानेकुरा ल्याए हुन्छ, बिस्कुट ल्याए हुन्छ, झोल पदार्थ नल्याउनुहाेस् एकदम प्रस्ट ।’

उनले आफूले पानी बाहेककको उपहार नलिने पनि बताए । उनले आधारभुत कुराहरु पहिला पुरा गरेर प्रशासनिक सुधार थाल्ने समेत बताए । त्यसक्रममा उनले नागरिकले सप्रमाण भ्रष्टाचार गरेको भनेर आए ठाउँका ठाउँ कारबाही गर्ने पनि बताए । उनले १० वर्षमा दलितहरु नरहने समेत प्रतिज्ञा गरे । उनले आफ्ना समस्याका बारेमा नागरिहरुलाई आफूलाई सुनाउन आग्रह गर्दै भने, ‘सम्वाद गर्ने, यो यो भनेर माग गर्ने । यति देला कि नदेला भनेर सानो पाराले नगर्ने है ! यो पनि माग्ने त्यो पनि माग्ने, मैले हेरेझै गर्ने अनि केपी कमरेडको मुहार सम्झने र दनादन सही गर्ने, यति भनेपछि त हुन्छ होला नि त्यसैले यो सजिलो बाटो रोझौं ।’

प्रतिक्रिया